ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “मदन भण्डारी लोकमार्गको सर्भेमा नै विवाद” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण गर्न लागिएको चुरे भित्रीमधेस हुँदै मेचीदेखि महाकाली जोड्ने ६ लेनको मदन भण्डारी लोकमार्ग निर्माण शुरु नहुँदै विवादमा तानिएको छ । झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म जोड्ने एक हजार दुई सय किलोमिटर लामो राजमार्गको प्रारम्भिक सर्भेदेखि नै विभिन्न स्थानमा विवाद शुरु भएको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले“मुख्यमन्त्री राईमाथि यौन दुर्ब्यावहारको आरोप” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकपछि अर्को विवादमा तानिएका छन् । मुख्यान्त्री राईमाथि एक अविवाहित महिलाले आफूलाई पटकपटक यौन दुर्ब्यावहार गरेको आरोप लगाएकी छिन् । बालिका खड्का नाम गरेको अविवाहित महिलाले नेपाल आज नाम गरेको अनलाइनलाई अन्तर्वार्ता दिदै मुख्यमन्त्री राईमाथि यौन दुर्ब्यावहारर लैंगिक हिंसा गरेको आरोप लगाएकी हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्ननसकी पछिल्ला वर्षहरूमा मिल्क होलिडे देखापार्न थालेको छ । किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा सडकमा पोखेर दुखोसो गर्ने प्रवृत्ति बढेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदमा कम र वर्षामा बढी मूल्य कायम हुने गरी दूधको मूल्य समायोजन गर्ने नयाँ विधिको थालनी गर्न लागेको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “पत्रकार चन्दलाई तत्काल रिहाइ गर : महासंघ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेपाल पत्रकार महासंघले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई ततकाल रिहाइ गर्न माग गरेको छ । पत्रकार महासंघले बुधबार एक विज्ञप्ति जारी गरी समाचार लेखेका आधारमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी मङ्गलबार विद्युतीय कारोबार ऐन अन्र्तगत कारबाही अघि बढाएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्नुपर्ने माग गरेको हो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले“तत्कालिन क्याम्पस प्रशासनले होस् नपुर्याउँदा  समस्या” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसले छात्राबास तथा टिचर क्वाटरको लागि जग्गा खरिद गर्दाको समयमा होस नपुर्याउँदा त्यसले अहिले ठूलो हानी गर्नसक्ने देखिएको छ । त्यसबेला जग्गा खरिदविक्रि गर्दा मोहीलाई चित्त बुझाएर (मोही वापतको केही रकम दिएर) नै खरिद विक्रि भएको जग्गा विक्रि गर्ने श्याम गोविन्द श्रेष्ठले बताएका छन् । तर त्यसबेला महेन्द्र बहुमुखी क्यापसका प्रमुख लोकेन्द्रप्रसाद आचार्य लगायत क्याम्पस प्रशासनले लगत कट्टा गर्ने होस् नपुर्याउँदा  अहिले आएर समस्या भएको श्रेष्ठले बताएका छन् ।