इनरुवा: सरकारले इनरुवालाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उद्देश्यले तयार भइरहेको बसपार्क निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण कार्यको ठेक्का पाएको कालिका कन्ट्रक्सन प्रालिका अनुसार बसपार्कका लागि भवन निर्माण, बस विसौनी, यात्रु प्रतिक्षालय, सवारीसाधन प्रवेश गर्ने र बाहिर निस्कने सडकबाटो कालोपत्रे कार्य सम्पन्न भइसकेको छ । यस्तै, पार्किङ क्षेत्र कालोपत्रे, बसपार्क वरपरको पर्खाल सडकवत्ती लगायतका आवश्यक पूर्वाधारहरु पनि निर्माण कार्य सकिएको प्रालिको भनाई छ ।

बसपार्कको नवनिर्मित भवनमा माथिल्लो तलामा चारैतर्फ घडी राखी भवनलाई घण्टाघरको रुपसमेत नक्शा डिजाईन भएकाले सरसफाईको काम सकिएसँगै घडी राखिने कन्ट्रक्सनले जनाएको छ । हाल सरसफाईको काम सुरु भईसकेको र यो काम सम्पन्न हुने बित्तिकै सम्बन्धित निकायलाई हस्तान्तरण गरेपछि बसपार्क संचालनमा आउने छ ।

साविकको इनरुवा ६ स्थित बसचौकदेखि दक्षिणतर्फको खेतमा जग्गादाताहरुले १५ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराए पनि बसपार्क निर्माण कार्य शुरु भएको थियो । त्यहाँसम्म आवतजावत गर्ने सडकका लागि जग्गाधनीहरुले बाटोसमेत दिएका थिए । तत्काल व्यापार व्यवसायका लागि कुनै संरचना नभएकाले यातायात व्यवसायी, यातायात मजदुर र सिण्डिकेट व्यवसायीहरुले नयाँ स्थानमा बसपार्क संचालनमा ल्याउन चुनौती हुने बताएका छन् ।

भौतिक पूर्वाधारयुक्त स्थान भएपनि एकान्त स्थानमा बसपार्क निर्माण भएकाले बसपार्क भित्र सवारी साधनहरु प्रवेश गरेर यात्रुहरुलाई चढाउने र ओराल्ने काम सहज नभएकाले बसपार्क संचालनमा चुनौती हुने यातायात व्यवसायीहरु बताउँछन । बसपार्कसम्म आउने र जाने राजमार्ग बाहेक अन्य लिक रोड सहायक सडक नभएकाले राजमार्गबाटै सवारीसाधनहरुले यात्रु बोक्ने सम्भावना धेरै भएकाले तत्काल लामो तथा छोटो दुरीका सवारीसाधनहरु त्यस स्थानसम्म आउने जाने अवश्था नरहेको यातायात व्यवसायीहरु बताउँछन ।

बिहान र राती आउने सवारी साधन एकान्त स्थानमा रहेको बासपार्क जाँदा यात्रुहरु समस्यामा पर्ने र इनरुवाको बजार भन्दा धेरै टाढा रहेकाले बसपार्कसम्म पुगेर यात्रा गर्न यात्रुहरु जाने सम्भावना एक एकदमै न्यून रहेकोले बसपार्क नचल्ने स्थानीय यातायात मजदुरहरु बताउँछन । नगरपालिकाले हस्तान्तरणमा लिएपछि प्रवेश गर्ने र निस्किने दुबै ठाँउमा ट्राफिक प्रहरी परिचालन गरेर जवरजस्ती सवारी साधन प्रवेश गराउन सके बसपार्क सञ्चालनमा आउने अन्यथा करोडौको लगानी रहेको बसपार्क केवल मर्निङ वाक गर्ने, दुव्र्यशनी र अनैतिक क्रियाकलाप गर्नेहरुको अखडा सिवाय केही पनि नहुने स्थानीयको आशंका छ ।

बसपार्क सफल हुनेमा आशंका ब्यक्त गर्दै बसपाक वरीपरि जग्गा जमिन भएकाहरुले समेत ब्यापार ब्यवसायको सम्भावनालाई हेरेर अहिलेसम्म कुनै पनि संरचना निर्माण नगर्नु र ब्यवसायीहरु समेतले लगानीको लागि तयार नहुनुले बसपार्क सञ्चालन गम्भीर आशंकाको घेरामा रहेको छ ।