इनरुवा: सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका ७ मा रहेको जनता माविमा नियमित पठनपाठन नभएको विधार्थीहरुले गुनासो गरेका छन ।

विद्यालयमा शिक्षकहरु नियमित नआउने र आएका शिक्षकहरु पनि कक्षा नियमित नलिने एवं विद्यार्थीहरुको प्रश्नको जवाफसमेत दिन आनाकानी गर्ने भन्दै विद्यार्थीहरु आक्रोशित छन् । विद्यालयका प्रअ विन्देश्वरी साहले आफ्नो पदीय जिम्मेबारी पुर्णरुपमा निर्वाह नगर्दा शिक्षकहरुको लापरवाही बढेको विद्यार्थीहरु बताउँछन् । शिक्षकहरु विद्यालयमा उपस्थित भएपनि कक्षा कोठामा आफ्नो घन्टीको बेला उपस्थित नभई दिने, अफिस कोठामा गफ गरेर बस्ने विद्यार्थी ललन यादवले बताए ।

विद्यालयमा हालसम्म नैतिक, कम्प्यूटर, अग्रेंजी लगायतका विषय एक पाठ पनि राम्रोसँग पढाई नभएको कक्षा ८ का विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा सहप्रध्यानाध्यापकको जिम्मेबारीमा रहेकी सिताकुमारी श्रेष्ठले विद्यालयको विवरण थाहा नभएको र मोटामोटी चार सय विधार्थी रहेको जानकारी दिदै पढाई नियमित भइरहेको दाबी गरिन् । उनले त्यस्तो दावी गरेपनि श्रेष्ठ स्वयम्ले समेत आफ्नो विषयको कक्षामा नियमित उपस्थित नहुने अर्का विद्यार्थी सुनिल साहले बताए । प्रत्येक वर्ष विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको उनको भनाई रहेको छ । जनता माविको बारेमा गुनासो आएपछि विद्यालयमा पुग्दा प्रअ कक्षा ३ मा गणित विषय पढाईरहेको भेटिए । उनले विद्यलायमा अभिभावको कमजोरीका कारणले विद्यार्थी न्युन आएको दावी गरे ।

नियमित पढाई नभएको बारे कुरा गर्दा उनले शिक्षकहरुले नियमित रुपमा नै पढाइरहेको दावी गरे । विद्यालयमा मावि तहमा चार जना शिक्षकको दरबन्दी रहेकोमा तीन जना विज्ञान विषयका र एक जना नेपाली बाहेकका शिक्षक अभाव रहेको छ । शिक्षकको आपूर्ति नभएको मार विद्यार्थीलाई परेको विद्यार्थी सुशिला साह बताउँछिन् । जनता माध्यमिक विद्यालयमा प्रावि तहका चार, आधारभुत (निमावि) तहका चार र मावि तहमा चार जना गरी १२ जना शिक्षकको दरबन्दी रहेको छ । माविमा अग्रेंजी विषयको शिक्षक अभाव छ भने विज्ञान विषयको शिक्षक तीन जना छन । सामाजिक, स्वास्थ्य जनसंख्या लगायतका विषय पढाई नभएको विद्यार्थीहरुको गुनासो छ । यस्तै, विद्यार्थीहरुले पाउनुपर्ने छात्रवृति पनि पाएका छैनन् ।