इटहरी: छैठ पर्व सेवा समिति इटहरीले यस वर्षको छैठ पर्वमा भएको आय व्यय सार्वजनिक गरेको छ ।

इटहरीको राधाकृष्ण मन्दिरमा बिहिबार पत्रकार सम्मेलन गरेर समितिले आय र व्यय सार्वजनिक गरेको हो । आयतर्फ घाट वितरण, चन्दा संकलन, इटहरी उपमहानगरपालिका, दान पेटिका, गत वर्षको बचत तथा मन्दिर निर्माणबाट गरी ६ लाख ४१ हजार पाँच सय पच्चीस रुपैँया संकलन भएको समितिले जानकारी दिएको छ । यस्तै, व्ययतर्फ टेन्ट, साउण्ड, सांस्कृतिक कार्यक्रम, प्रसाद, सुरक्षा गार्ड, सरसफाई लगायत अन्य गरी ६ लाख ४१ हजार पाँच सय पच्चीस रुपैँया खर्च भएको पनि समितिले जनाएको छ ।

छैठ पर्व सेवा समितिका तत्कालिन अध्यक्ष बासुदेव साहले आय व्यय प्रस्तुत गर्दै आगामी दिनमा मन्दिर निर्माण गर्न लागि पर्ने जानकारी दिए । उनले गत असोज २४ गते मन्दिर निर्माणका लागि सिलान्यास गरेको र करीब ४० लाख रुपैँया लागतमा मन्दिर निर्माण हुने बताए । हाल मन्दिरको छट ढलानको क्रममा रहेको छ । आगामी बर्षहरुमा निश्चित स्थानमा छैठ पर्व मनाउने पनि उनले बताए । आगामी दिनमा घाटको स्थायी रुपमा व्यवस्थापन गर्ने, छैठ पुजा स्थलमा खानेपानी तथा शौचालयको स्थायी व्यवस्थापन गर्ने, सामाजिक काममा सहभागी हुने छैठ पर्व सेवा समितिका सचिव बासुदेव कर्णले बताए । इटहरी र सुन्दरहरैँचाको बीचमा रहेको बुढीगंगा घाटको स्थायी व्यवस्थापन भईनसकेको र आगामी दिनमा यसको स्थायी रुपमा व्यवस्थापन गरेर लैजाने उनले बताए । उनका अनुसार बुढीगंगामा ३० बर्ष अगाडिदेखि छैठ पर्व मनाउँदै आएको हो ।