इनरुवाः प्रदेश सरकार मातहातमा सुनसरीका किसानहरुलाई कृषि उत्पादन वृद्धिका लागि आवश्यक सहयोग गर्ने कृषि ज्ञान केन्द्र काम विहिन हुँदा सुनसरीका किसान समस्यामा परेका छन ।

साविकको कृषि विकास कार्यालय रहेको भवनमा स्थापना भएको कृषि ज्ञान केन्द्रले गँहु खेती र मकै खेतीको सिजन सुरु भएपनि अनुदानको बिऊ वितरण नगर्दा किसानहरुले जिविकोपार्जन, स्वआर्जन र व्यवसायिक खेती गर्न समस्या भएको बताएका छन । इनरुवामा रहेको कृषि ज्ञान केन्द्रले प्रदेश नं १ को कृषि मन्त्रालयबाट प्राप्त वार्षिक कार्यक्रम तथा योजनाहरु किसानसम्म लैजानका लागि सरोकारवालाहरु बिचमा छलफल र किसानहरुका माँझमा आफ्ना योजनाहरु लैजान ढिलाई गरेकाले किसानहरुले गहुँ र मकै खेतीको सिजनमा सरकारबाट पाउने सुविधा गुम्ने अवश्था आएको हो ।

देवानगञ्जका किसान रघुप्रसाद मेहताले कृषि ज्ञान केन्द्रमा गएर सम्पर्क गर्दा ज्ञान केन्द्रका कर्मचारीहरुले अनुदानका लागि कार्यक्रम र योजनाका बारेमा अनभिज्ञता जनाउँदै गाँउपालिका र वार्ड कार्यालयमा जान सुझाव दिदै मल बिउ दिन बजेट नभएको जवाफ दिएर फर्काएको बताए । हरिनगर गाउँपालिकाका किसान विष्णुदेव साहले प्रदेशमा रहेको कृषि मन्त्रालयमा जाँदा सुनसरीका लागि बजेट योजना र वार्षिक कार्यक्रम कृषि ज्ञान केन्द्रमा पठाई सकेको जानकारी हामीहरुलाई दिएपछि खेती लगाउनका लागि गुणस्तरीय मल बिऊ लिन कृषि ज्ञान केन्द्रमा जाँदा ज्ञान केन्द्रका कर्मचारीहरुले बजेट नभएको भन्दै फिर्ता पठाएको बताए ।

कोशी गाउँपालिकाका किसान जुगेश्वर सरवरियाले सरकारले दिने भनेको अनुदानको बिऊ खेती लगाउने समयमा ज्ञान केन्द्रले वितरण नगरेकाले किसानहरुले महंगो र गुणस्तरहिन बिउ खरीद गरी खेती लगाउँदा उत्पादन नहुने र लगानीसमेत नउठने अवस्था आउने भएकाले यसवर्ष सुनसरीका किसानहरु समस्यामा परेको बताए ।
कृषि ज्ञान केन्द्रका कर्मचारी तुलसी चौधरीले तत्काल कार्यालय मात्र स्थापना भएकाले प्रदेशबाट आवश्यक नीति निर्देशन र बजेट निकासा भएर योजना नआएकाले बजेट प्राप्त हुना साथ किसानहरुलाई सरकारले उपलब्ध गराउने आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउने बताए । कार्यालयमा मन्त्रालयबाट कार्यक्रम तथा बजेटको अख्तियारी प्रष्ट रुपमा नआएकाले आवश्यक निर्देशन प्राप्त हुना साथ किसानहरुले उठाएका गुनासाहरुलाई समाधान गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।