धरान: नेपालकै चर्चित फुटवल प्रतियोगिता मध्येको एक बुढासुब्बा गोल्डपकको २१ औं सँस्करणको तयारी शुरु भएको छ । आयोजक धरान फुटबल क्लबले शुक्रबार केही सञ्चारकर्मीहरुसँग २१ औं सँस्करणलाई कसरी भव्य बनाउने भनेर छलफल गरेको छ ।

क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ उपाध्यक्ष किसोर राईले निरन्तर आयोजना भइरहेको बुढासुब्बा गोल्डकपलाई निरन्तरता दिनु नै ठुलो उपलब्धी भइरहेको बताउदै अब नयाँ तरिकाले क्लब अघि बढ्न खोजीरहेको बताए । ‘जस्तै कठिन परिस्थितिमा पनि बुढासुब्बा गोल्डकप रोकिन दिएनौ, आर्थिक संकट र व्यवस्थापनमा समस्या हुदा पनि एक बर्ष पनि रोकेनौ र आज २१ औ सँस्करण गर्ने क्रममा छौ,’अध्यक्ष राईले भने,‘अब नयाँ तरिकाले हामी जानुपर्छ ।

कसरी भव्यरुपमा गोल्डकप आयोजना गर्ने भनेर छलफल र तयारीमा जुटेका छौ ।’ माघ तेस्रो सातादेखि आयोजना हुने विगतमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासँगको द्वन्दको कारणले एन्फाले बुढासुब्बा गोल्डकपलाई आफ्नो क्यालेन्डरमै समावेश गरेन । जसले गर्दा आयोजकले बुढासुब्बाको खेल तालिका मिलाउनै हम्मे पथ्र्यो । अहिले एन्फामा थापाको दबदबा सकिएको छ । जसले गर्दा बुढासुब्बा आयोजकले एन्फासँग समन्वय गरेर समयतालिका पनि निर्धारण गरिसकेको छ । यसपाली २१ औं सँस्करण माघ तेस्रो साता हुने निश्चित भइसकेको छ । तर, यो समय तालिकालाई एन्फा बैठकले औपचारिक निर्णय गर्न बाँकी छ । अध्यक्ष राईका अनुसार यो बर्षपनि ८ वटा टिमलाई प्रतियोगितामा सहभागी गराइनेछ । जसमा नेपालको राष्ट्रिय युवा टिमले राष्ट्रिय जर्सीबाट खेल्ने गरी पहल भइरहेको उनले बताए ।

47258864_746833785691513_598517531082227712_n

‘विदेशी टिम पनि राम्रो ल्याउने र नगद पुरस्कार पनि बढाउनेछौं,’उनले भने,‘यो सँस्करणलाई भव्य बनाउन के के गर्ने, प्रचार प्रसारलाई व्यापकता कसरी दिने भनेर छलफल गरिरहेका छौं ।’ नगद पुरस्कार कम्तीमा १० लाख दिइने बुढासुब्बा गोल्डकप भन्दा पछि आयोजना हुन थालेका प्रतियोगिताहरुले नगद पुरस्कार राशी आकर्षक दिन थालिसकेका छन् । तर, जहिल्यै आार्थिक संकट व्यहोर्ने बुढासुब्बा गोल्डकपले अपेक्षितरुपमा नगद पुरस्कार बढाउन नसकेको र मुनाफा पनि कमाउन नसकेको भन्द्र आलोचना खेप्नु परिरहेको छ । यो बर्ष भने पुरस्कार राशी निक्कै बढाउने क्लबले जनाएको छ । अध्यक्ष राईका अनुसार यो बर्ष प्रथम पुरस्कारको नगद राशी कम्तीमा १० लाख हुनेछ भने उपविजेताको लागि नगद ५ लाख हुनेछ । सहयोगको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग पनि आवश्यक बजेट माग गर्न जाने अध्यक्ष राईले बताए । ‘संघ, प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ । प्रथम पुरस्कार १५ लाख व्यवस्था भयो भने हामी दोस्रो पुरस्कार जुटाउन सक्छौ,’उनले भने,‘मिनि ब्राजिल भनेर धरानलाई यही बुढासुब्बा गोल्डकप, फुटबलले चिनाएको हो, सबैबाट सहयोगको अपेक्षा गछौ ।’