पथरी:लिम्बू जातिले सिरिजंगा स्मृति धार्मिक वनमा भव्यताकासाथ चासोक तङ्नाम उधौली पूजा मनाउने भएको छ । धार्मिक वन समिति र याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । शनिबार सिरिजंगा स्मृति धार्मिक वनमा पत्रकार सम्मेलन गर्दै दुवै संस्थाले चासोक तङ्नाम उधौली पूजाको ३ दिने कार्यक्रम तालिका सार्वजानीक गरेको छ । चासोक तङ्नाम आगामी पौष ४ गते देखि ७ गतेसम्म हुने छ । दैनिक मेलासहित पौष ४ गते पहिलो दिन मनोरञ्जनात्मक कार्यक्रमहरु रोटे पिङ लगायत विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ । राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाम्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ् कप प्रतियोगिता र बुद्धराज हाङगाम लिम्बू स्मृति महिला भलिबल रनिङकप प्रतियोगिता पनि हुने भएको छ । प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावाले ५१ हजार र दोस्रो पुरस्कारको राशी तेजबहादुर सेरेङले ३१ हजार प्रायोजन गर्ने भएका छन् । यस्तै, प्रथम महिला भलिबलको पुरस्कारको राशी पर्शुराम कार्कीले ३१ हजार र दोस्रो पुरस्कारको राशी कोपिला सिरेङले २१ हजार प्रायोजन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसैगरि, पौष ६ गते लिम्बूहरुको एतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा,लि तोङ आप्मा लगात हुनेछ । पौष ७ गते विहान ९ बजेसम्म उधौली पूजा गरी ११ बजे अक्षेता भेटि जम्मा गरेर प्रसाद वितरण गरिने आयोजक समितिका सचिव सन्तोष सेरेङले बताए । दिनको १२ बजेदेखि एतिहासिक साँस्कृतिक केलाङ, माङलाङ, येवालाङ, याराक्लाङ र हाक्पारे ख्याली देखाउँर्दै समापन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि, अर्थमन्त्री इन्द्र आङ्वो र चुम्लुङको केन्द्रीय उपाध्यक्ष कमल तिगेला बिशिष्ट अतिथि रहनेछन् । समापनमा पुरस्कार बितरण, सम्मान कार्यक्रम, गायक दिपक लिम्बूको बेजोड प्रस्तुनि पनि रहने आयोजकको भनाई छ ।