पथरी: मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा ढल निकासको आयोजना सञ्चालन गर्न आवश्यक पर्ने जग्गाको मुल्याङ्कनको काम अघि बढेको छ । इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेका अधिकृत त्रिलोचन रिमालको संयोजकत्वमा गठित मुआब्जा निर्धारण उपसमितिले मुल्यांकनको काम थालेको हो । समितिले वडा नम्वर २ र ७ को सिमानामा रहेको लिच्चीडाँडा पश्चिमको होली जग्गा मुल्यांकन गरेको छ । समितिले स्थानीयलाई भेटेर सो जग्गाको चलनचल्तीको मुल्यको बारेमा बुझेर प्रतिवेदन तयार गर्ने संयोजक रिमालले बताए । समितिमा मालपोत कार्यालय बेलबारीका अधिकृत गणेश खड्का, नापी शाखा बेलबारीका अधिकृत महेशकुमार सिंह, पथरीशनिश्चरे नगरपालिकाको लेखा अधिकृत धनमाया राई रहेका छन् । नगरपालिका कार्यालयले सो स्थानमा ढल निकासको लागि जग्गा माग गरेकोमा २ जनाले जग्गा दिने आवेदन गरेपछि समितिले मुल्याङ्कनको काम थालेको हो । आयोजनाको लागि सो क्षेत्रमा कम्तिमा ३० कठ्ठा जग्गा आवश्यक पर्ने बताइएको छ । पथरी खानेपानी तथा ढल निकास कार्यालयले सो आयोजनाको पहल अघि बढाएपछि जग्गा व्यवस्थापनको कार्यक्रम नगरपालिका जुटेको हो ।