इनरुवा: इनरुवा नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आइतवार एक दर्जन मुद्दाहरुमा जागरुक नागरिक दबाब समुहले अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दर्ता गराएको हो । संयोजक पारसमणी यादव, सह–संयोजक दिनेशकुमार लम्सालले नगरपालिकामा भएको भ्रष्टचार र अनियमितता छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । पदको दुरुपयोग गरी प्रमाणहरु लुकाउने, नष्ट गर्ने र सच्चाउने सम्भावना भएकाले योजना फाँट, लेखा फाँट, जिन्सी फाँट, सामाजिक विकास शाखाका सम्पूर्ण फाइल तथा कागजातहरु र कम्यूटरको अभिलेखिकरण शिलवन्दी गरी नियन्त्रणमा लिन पनि अख्तियारलाई आग्रह गरिएको छ । साथै, बैंक खाता रोक्का गरी अनुसन्धान र कानूनी कर्वाही अगाडी बढाउन पनि माग गरिएको छ ।

उजुरीमा निर्वाचित जनप्रतिनिधिले पेश्की लिई आर्थिक कारोवार गर्न नपाउने कानूनी व्यवस्था विपरित काम गरेको, नियुक्ति नपाएका, दरवन्दी नभएका र हाजिर नभएका विभिन्न व्यक्तिहरुलाई काममा लगाएर विकास निर्माणको बजेटबाट तलव खुवाउने गरेको आरोप लगाइएको छ । यस्तै, सार्वजनिक सूचना, टेण्डर आह्वान नगरी २५ मोटरसाईकल खरीद गरिएको, नगरपालिकावाट जनप्रतिनिधि हुनुभन्दा अगाडि वार्षिक ९ लाख इन्धन खर्च हुँदै आएकोमा जनप्रतिनिधि आएपछि बार्षिक ९० लाखभन्दा बढी रकम इन्धनमा खर्च गरेर व्यापक भ्रष्टाचार र अनियमितता गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

यस्तै, इनरुवा–३, स्थित राधाकृष्ण मन्दिरदेखि इनरुवा–४ कुरुवा खोला गणेशपुरसम्मको वाटो, इनरुवा–३, क्रसरोड टोलदेखि महेन्द्र राजमार्गसम्मको वाटो, इनरुवा–१ गनुबाबु मार्गको बाटो, इनरुवा–२, भोला निरौलाको घरदेखिको बाटो उक्त स्थानमा कालोपत्रे सडक नै नवनाई भ्रष्टाचार र अनियमितता गरेको उजुरीमा दाबी छ । कुरुवा खोलाको पुलमा तारजाली नलगाई कागजमा मात्र काम गरेको, लक्षित वर्ग कार्यक्रमअन्तर्गत मेयरले आफै सञ्चालन गरेका एनजीओलाई मात्रै महिला, बालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, जनजाति, आदिवासी, पिछडा वर्ग कार्यक्रमको नगर स्तरीय योजना कागजमा सिमित गरी फर्जी बिल भरपाई वनाई रकम निकासा गरी भ्रष्टाचार गरेको दावी गरिएको छ ।

स्वीकृत मापदण्ड र लगत इष्टिमेटअनुसार बाटो वनाउनुपर्नेमा व्यक्तिगत घर, जग्गा बचाउनका लागि नगरपालिकाको सार्वजनिक सम्पतिमा निर्माण भएका सुपरमार्केट, मन्दिर, रंगशालालगायतका सार्वजनिक भवन र सम्पत्ति नोक्सानी गर्ने कार्य गरेको पनि उजुरीमा उल्लेख छ । बबियादेखि सखुवागाछीसम्मको बाटो निर्माणको टेण्डर गर्दा ५० फिटमा गरी मापदण्ड र टेण्डरभन्दा बाहिर गएर ७० फिटको बाटो बनाउन लगाई लगत ईष्टिमेट बढाई अनियमितता र भ्रष्टाचार गर्न लागेको आरोप लगाईएको छ ।