युभेन्टसले इटालियन सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। लिग अन्तर्गत युभेन्ट्सले शनिबार फिओरेन्टिनालाई ३/० ले हराउँदै लिगमा अपराजित यात्रा जारी राखेको हो। यो जितसँगै साविक विजेता युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ। युभेन्टसलाई जिताउन रोनाल्डो, रोड्रीगो बेनटान्कुर र जिओर्जियो किएलिनले गोल गरे।

खेलको ३१ औं मिनेटमा पाउलो डिबालाको पासमा रोड्रीगो बेनटान्कुरले गोल गर्दै युभेन्टसलाई सुरूवाती अग्रता दिलाए। नियमित मिडफिल्डर मिरालेम प्यानिच चोटका कारण अनुपस्थित खेलमा बेनटान्कुरलाई मौका दिइएको थियो। पहिलो हाफमा १/० ले अघि रहेको युभेन्टसका लागि दोस्रो हाफमा कप्तान जिओर्जियो किएलिनीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ६९ औं मिनेटमा किएलिनीको प्रहारलाई फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो। यो सँगै १८ महिने लामो गोलको खडेरी किएलिनीले तोडेका छन्। खेलको ७९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई ३/० को सहज जित दिलाए। युभेका फरवार्ड मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन्। यो सँगै रोनाल्डोको लिगमा १० औं गोल पुरा भएको छ।

setopati.com बाट साभार गरिएको