ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “अस्त–व्यस्त नापी शाखा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  बेलबारीको नापी शाखा अस्त–व्यस्त हुँदा सेवाग्राहीले तुरुन्तै सेवा पाउनबाट बञ्चित बनेका छन् । समयमा कर्मचारी नआउने समस्या यथावत् छ । भने नक्सा लिनका लागि घण्टौ कुर्नुपर्ने बाध्यता पनि छ । आइतबार बिहान कार्यालय खुल्ने समयमा ब्लाष्टकर्मी पुग्दा कार्यालयका कर्मचारी आएका थिएनन् । कम्प्युटर शाखामा नक्सा लिने सेवाग्राही कर्मचारीको प्रतीक्षामा थिए । उक्त शाखामा बिहिबार देखिकै निवेदनको थाक देखिन्थ्यो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “रंगेली बजारका घर भत्काइयो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङको पुरानो सदरमुकाम रंगेली बजारको सरकारी जमिन रहेका पुराना घरहरु आइतबार भत्काइएको छ । रंगेली बजारमा आइतबार दिनभर घरहरु भत्काइएको हेर्ने मानिसहरुको जमघट थियो । सरकारी जमिनमा वर्षैदेखि बसेका स्थानीयलाई हटाउन प्रहरी सुरक्षा तैनाथ गरिएको थियो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “धरानमा गृहमन्त्रीको राजीनामाको माग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरानका विद्यार्थी पनि कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषीलाई पक्राउ गर्न माग गर्दै आइतबार सडकमा उत्रिएका छन् । उनीहरुले गृह मन्त्रीको राजीनामाको समेत माग गरेका छन् । सरकार भेटियो, न्याय भेटिएन, निर्मलालाई न्याय दे लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर विद्यार्थी भानुचोक आएर कोण सभा गरेका थिए ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “सरकारी भाषा लिम्बु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपालमा पहिलो पटक प्रदेश १ को ईलाम जिल्ला, माङसेबुङ गाँउपालिकामा लिम्बु भाषलाई सरकारी कामकाजको भाषको रुपमा प्रयोग गरिने भएको छ । गाँउपालिकाले उक्त निर्णय गरेकोमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ सुनसरी र लिम्बु विद्यार्थी मञ्च केन्द्रिय समितिले शनिबार धरानको भानुचौकमा दिप प्रज्जवन गर्दै निर्णयलाई स्वागत गरेको छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “प्रहरीले किन झुम्का कारागार तोडेर भागेका यादव विरुद्ध जारी गरेन रेडकर्नर नोटिस ? शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । झुम्का कारागार तोडेर १२ जना कैदी लिएर फरार भएका नेपालका विभिन्न आपराधिक घटनामा संग्लन नेपाल–भारतका कुख्यात अपराधी धिरेन्द्र यादव र फराहरुमाथि अहिले सम्म सरकारले रेडकर्नर नोटिस जारी गरेको छैन् ।