पेरीस सेन्ट जर्मेन (पीएसजी)को फ्रान्सेली लिग वनमा लगातार जितको यात्रा टुंगिएको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा बोर्डोले पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई बराबरीमा रोक्दै पिएसजीको लगातार जितलाई पूर्णबिराम लगाएको हो। बोर्डोको घरेलु मैदानमा भएको खेल २/२ मा सकिएपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको हो। पीएसजीका लागि नेइमार र एम्बाप्पेले गोल गरे पनि पीएसजीलाई जिताउन सकेनन्।

पहिलो हाफको ३४ औं मिनेटमा नेइमारको गोलबाट पिएसजीले सुरूवाती अग्रता लिएको थियो। ड्यानी आल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। अधिकांश समय बल नियन्त्रणमा राखे पनि पिएसजीले गोल गर्न नसक्दा पहिलो हाफमा १/० ले मात्र अघि रह्यो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको घरेलु टोलीले आक्रमण बढायो। खेलको ५३ औं मिनेटमा यान कारमाओको पासमा जिमी ब्रायन्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफको ५६ औं मिनेटमा नेयमार चोट बोकेपछि मैदान छाडेर गएका थिए। नेइमार नभए पछि केही दबाब महसुस गरे पनि ६६ औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा युवा स्टार किलियन एमबाप्पेले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए। खेलको ८४ औं मिनेटमा बोर्डोले फेरि बराबरी गोल फर्कायो। म्याक्सिम पाउन्जेको पासमा आन्द्रिएस कर्नेलियसले गोल गरेपछि खेल बराबरीमा सकियो। अन्तिम समयमा पीएसजीले गोल गर्ने राम्रो मौका गुमाउँदा लगातार जितको यात्रामा पूर्णविराम लागेको हो। यद्यपी अपराजित भने रहिरहेको छ।

setopati.com बाट साभार गरिएको