काठमाण्डौ:नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले सातवटै प्रदेश कमिटीका लागि सदस्यहरुको टुंगो लगाएको छ ।

सचिवालयको आइतबार सम्पन्न बैठकले प्रदेश कमिटिमा रहने सदस्यहरुको नामावली मनोनयन गरेको हो । आइतबारको निर्णय अनुसार प्रदेश १ मा तत्कालिन एमालेको १ सय २२ र माओवादीको ८५ जना गरी २०७ सदस्य बनाइएको छ । प्रदेश २ मा तत्कालिन एमाले र माओवादीबाट १०६ र १०६ र पछि पार्टीमा आएको तत्कालिन राष्ट्रिय जनता दलका तीन सदस्य छन् । प्रदेश २ मा अधिकतम संख्या २ सय १५ तोकिएको छ ।

यसैगरी, प्रदेश नं ३ मा २ सय १७ सदस्यीय कमिटिमा साविक एमालेबाट १ सय १६ र साविक माओवादी केन्द्रबाट १ सय १ सदस्य परेका छन् । यस्तै, १ सय ८७ सदस्यीय गण्डकी प्रदेशमा साविक एमालेबाट १ सय २ र साविक माओवादी केन्द्रबाट ८५ जना परेका छन् । यस्तै, २ सय ३ सदस्यीय ५ नं प्रदेश कमिटिमा साविक एमोलबाट १ सय ६ र साविक माओवादी केन्द्रबाट ९७ जना सदस्य परेका छन् । यसैगरी, एक सय ७५ सदस्यीय हुने कर्णाली प्रदेश कमिटिमा साविक एमालेबाट ८७ जना र साविक माओवादी केन्द्रबाट ८८ जना परेका छन् । यस्तै, १ सय ८३ सदस्यीय प्रदेश कमिटि रहने सुदुरपश्चिम प्रदेशमा साविक एमालेबाट एक सय र साविक माओवादी केन्द्रबाट ८३ जना परेका छन् । यसअघि असोज ५ गते बसेको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गरेको थियो भने प्रदेशहरूको लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी पनि सोही दिन तोकेको थियो ।