ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “भोकभोकै विद्यालय” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भोको पेटलाई खानेकुरा चाहिन्छ, त्यसको अरु विकल्प छैन् । साना बालबालिका त्यसै चञ्चले स्वभावका हुन्छन् । भोको पेटमा खेल्न पाए एकछिन् अल्मलिएलान् । तर, भोको पेटले पढन सक्दैन् । जति नै फकाएर पनि खाली पेटमा शिक्षा निस्र्थक हो । विराटनगर महानगरपालिकाको एक प्राथमिक विद्यालयमा यस्तै भोका बालबालिका पढ्न आउँछन् । टिफिन सम्म पनि शिक्षकहरुले अल्मल्याएर राख्न सक्दैनन् । १२ नबज्दै पिर्लिक–पिर्लिक आँसुका डल्ला झार्दै भोक लाग्यो भन्दै रुन्छन्, शिक्षिका सीता दाहालले भनिन्, मनले मान्दैन् खाएर आओ भन्छौं तर फर्केर आउँदैनन खोज्न जानुपर्छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले“प्रदेशबाट गाँउ पठाइयो २ अर्ब ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आशंका उब्जिरहेको बेला प्रदेश सरकारले एकै पटक २ अर्ब रुपैयाँ गाँउ पठाएको छ । आर्थिक वर्ष २०७५(७६ को पहिलो चौमासिकमा एक प्रतिशत पनि बजेट खर्च गर्न नसकेको सरकारले दोस्रो चौमासिकको सुरुवातमै बजेटको ५ दशमलव ५६ प्रतिशत हुने गरी स्थानीय तहहरुमा बजेट पठाएको हो । प्रदेशको आर्थिक माामिला तथा योजना मन्त्रालयले शसर्त अनुदानवापतको पहिलो किस्ता रकम १ सय ३७ स्थानीय तहबाट प्रस्ताव भई आएका १ सय ९२ वटा योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि पठाएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । चालू बजेटको खर्च प्रतिशत बढाउनुपर्ने दवावमा रहेको सरकारले दोश्रो चौमासिकको सुरुवातमै ठूलो बजेट गाँउ पुर्याएको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स देनिकले “यौनशक्ति बढाउने भियाग्रा असावधानी पुर्वक खादा ज्यान जान सक्छ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । यौनउत्तेजना बढाउन प्रयोग गरिने शक्तिबर्धक औषधि भियाग्राको सेवनपछि धरानमा एक बर्षमा तीन जनाको मृत्यु भएको रहस्य खुलेको छ । श्रीमान श्रीमतीबीचको असमझदारीका कारण व्यावसायिक यौनकर्मीहरुसँग यौन सम्पर्क गर्दा प्रयोग गरिएको भियाग्राले ल्याएको उत्तेजनालाई नियन्त्रण गर्न नसक्दा गत वर्ष एक र यस वर्ष दुई जना पुरुषको ज्यान गएको छ ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ छोराको जन्म दिनमा शर्माले दिए देवीलाई जग्गा ‘गिफ्ट’” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । झापा मेचीनगरकी देवी मेचे सुत्केरी भएको २५ दिनमै एकल हुन पुगिन् । काखको नाबालक र आफ्नी श्रीमती छोडेर उनका श्रीमान् बिते । उनको दुःख यहीँ सकिएन । घरबारविहीन देवी सडकमा बस्नुपर्ने स्थितिमा पुगिन् । घरभाडा तिर्न नसकेको महिनौँ भयो । १२ वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाएकी देवी अत्यन्तै दर्दनाक अवस्थामा थिइन् । तर, अहिले देवीको घर निर्माण सुरु भएको छ । केही नहुनेको दैव हुन्छ भनेझै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा प्रदान गरेपछि देवीको घर निर्माण थालनी भएको हो । घर निर्माणका लागि झापाको मेचीनगर का राजनीतिक दलका नेता, व्यवसायी र सर्वसाधारण सम्मिलित समिति गठन भएको छ । कांग्रेस प्रवक्ता शर्माले मेचेको घर निर्माणका लागि मेचीनगर–९ कमलचोक पूर्वतर्फ एक लाख मूल्यको ७ धुर जग्गा खरिद गरिदिएका छन् ।