क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा पहिलोपटक यो उपाधि हात पारेका हुन् ।पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५/५ पटक आफ्नो नाम उपाधि गरे । यसपटक भने मोड्रिचले दुवै खेलाडीको चुनौती पन्छाउँदै उपाधि हात पारेका हुन् । विश्वकप विजेता फ्रान्सका खेलाडीहरु पनि उपाधिको दावेदारका रुपमा रहेका थिए ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे । पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गरे । उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने एमबाप्पेले हात पारे ।बार्सिलोना कप्तान लिओनेल मेसी पाँचौ स्थानमा रहँदा मोहमद सलाहले छैटौं स्थान प्राप्त गरे । सातौंमा राफेल भाराने र आठौंमा इडेन हाजार्ड रहे । केभिन डि ब्रुएन नवौं र ह्यारी केनले दशौं स्थान हासिल गरे । नेयमार शीर्ष दशमा पनि नपर्दा १२ अौं स्थानमा रहे ।

hamrokhelkud.com बाट साभार गरिएको