तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका–२, स्थित सिंहवाहिनी माविले क्यान्सरपीडित एक विद्यार्थीलाई उपचारका लागि सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत पिप्लेका क्यान्सर पीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुबाट संकलित १ लाख ६६ हजार ४० रुपैयाँ सहयोग गरेको हो । उक्त रकम मंगलबार विद्यालयले क्यान्सर पीडित बालकका बुवा लोकबहादुर खत्रीलाई हस्तान्तरण गरेको छ । खुट्टामा सामान्य चोट लागेपनि उपचारमा लापरवाही हुँदा सुरजलाई हड्डीको क्यान्सर भएको परिवारजनले जनाएका छन् । उनको हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । उपचारमा अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको र अब शल्यक्रियाको लागि साढे पाँच लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको बुवा लोकबहादुरले बताए । सिंहवाहिनी माविले विद्यालयसँगै आसपासका बजारहरु र विद्यालयहरुबाट समेत रकम संकलन गरेको थियो । पीडित खत्री विद्यालयका कक्षा–१० मा अध्ययनरत विद्यार्थी हुन् । उनको उपचारका लागि सहयोग संकलन गर्न अहिले जिल्लामा अभियान चलिरहेको छ ।

12 1