ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “खेतमै अध्ययन, खेतमै गृहकार्य” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुन्दा अचम्म लाग्न सक्छ, किसानलाई खेतमै अध्ययन, खेतमै गृहकार्य भन्दा तर, झापा कमल गाँउपालिकाका किसानलाई खेतमै अध्ययन र गृहकार्य गराउन शुरु गरिएको छ । झापाको कमल गाँउपालिकाको मूल कृषक समुह अन्र्तगत वडा नम्बर–६ स्थित हरियाली कृषक समुहका किसानले गृहकार्य गरेबापत बीउ पाउने गरेका छन् । कृषक मदनकुमार बोहोराले गृहकार्यका लागि एक किलो घाँसको बीउ पाएको छन् । बोहोराले मुल कृषक समुहमार्फत् १८ हप्ताको कृषि पाठशाला अध्ययनपछि गृहकार्यबापत एक किलो भेच जातको घाँसको बउि पाएका हुन् । उनले दिनभरि कृषि पाठशालामा सिकेको ज्ञानलाई खेतमा प्रयोगात्मक रुपमा गृहकार्य गर्न दिइएको हो । बोहोराजस्तै यो पाठशालामा अध्ययन गरिरहेका २० प्रशिक्षार्थी किसानलाई प्रतिव्यक्ति गृहकार्यबापत एक–एक किलो बीउ प्रदान गरिएको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “सीएको सबै काम विराटनगरबाटै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आफ्ना सबै सेवा विराटनगरबाट पनि दिन सुरु गर्ने भएको छ । जसको लागि चार्टर्ड एकाउन्टेन्स (सीए) को सदस्यतादेखि लिएर सीएको परीक्षाका लागि विराटनगरबाटै सेवा शुरु हुने भएको छ । विराटनगरमा चार वर्षदेखि सीए पढाई हुँदै आएको र यहाँ पढेका विद्यार्थीले क्याप १ र क्याप २ विराटनगरमा परीक्षा दिन पाउने भएका छन् । सीएको अन्तिम परीक्षाको रुपमा रहेको क्याप ३ का लागि यसअघि काठमाडौं नै जानुपर्ने बाध्यता थियो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “भूमाफियाको चलखेल विरुद्ध विद्यार्थी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । महेन्द्र बहुमुखी क्याम्पसको धरान ११ पानी ट्याङ्कीमा रहेको जग्गामा मोही हकको नाममा भूमिाफियाहरुले चलखेल गरेको भन्दै क्याम्पका विद्यार्थीहरु संघर्षमा उत्रिएका छन् । क्याम्पसमा सोमबार पत्रकार सम्मेलन गर्दै स्ववियुका सभापति सागर सरगम चेम्जोगको अध्यक्षतामा क्याम्पस जग्गा बचाउ संर्घष समिति गठन गरेर संघर्षमा उत्रिएको जानकारी दिएका छन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “कालोसूचीमा परेका मजदुर नेता मस्तीमा ” शर्षिकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । अनियमितताको आरोपमा कालोसूचीमा परेका एक मजदुर नेता बिनारोकटोक डेनमार्कको राजधानी पुगेकाछन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम लिएर नतिरेपछि कालोसूचीमा परेका तत्कालीन माओवादीनिकट अखिल नेपाल ट्रडे युनियन महासंघ (अन्टुफ) का केन्द्रीय अध्यक्ष गणेश रेग्मी शनिबार कोपनहेगन पुगेका हुन् । देशबाहिर जान नपाउने गरी युवा तथाखेलकुद मन्त्रालयले उनको राहदानी रोक्का गर्न कात्तिक २६ गते परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो । परराष्ट्र र गृह मन्त्रालयकोसमन्वय नहुँदा कालोसूचीका रेग्मीले अध्यागमनबाट सहजै परस्थान अनुमति पाएका हुन् । अध्यागमन विभागले रेग्मीलाई रोक्नु वा उनको राहदानी रोक्का गरिएको कुनै निकायले पत्राचार नगरेको दाबी गरेको छ ।