तेह्रथुम : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ । नेकपाले सात वटै प्रदेश कमिटीहरुलाई पुर्णता दिएको हो । प्रदेश नं. १ संगठन कमिटीमा तेह्रथुम जिल्लाबाट ९ जना नेताहरु परेका छन् ।

नेकपाले सोमबार सार्वजनिक गरेको प्रदेश कमिटीका सदस्यहरुको सूचीमा तेह्रथुमबाट ९ जना नेताहरु परेका हुन् । जसमा तत्कालिन नेकपा एमालेबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४ जना नेता रहेका छन् । जिल्लाबाट तत्कालिन नेकपा एमालेका नेताहरु अनुभूतिबम नेपाली, तेजमान कन्दङवा, लक्ष्मण तिवारी, रामचन्द्र थपलिया, र किशोर चन्द्र दुलाल प्रदेश संगठन कमिटीको सदस्य बन्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रबाट इन्द्रबहादुर इम्सुङ, तारा भट्टराई, चुडामणि बराल र बिष्णु प्रसाद दाहाल पनि नेकपाको प्रदेश संगठन कमिटीको सदस्य बन्नुभएको छ । नयाँ शक्ति पार्टीको जिल्ला संयोजक रहनुभएका दाहाल केही महिना अघिमात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
प्रदेश नंं १ मा २ सय ७ सदस्यीय संगठन कमिटी सार्वजनिक भएको छ । जसमा साविक नेकपा एमालेबाट १ सय २२ जना र साविक माओवादी केन्द्रबाट ८५ जना रहेका छन् । पार्टी एकता घोषणा भएको करिब पाँच महिनापछि नेकपाले प्रदेश कमिटीहरूको टुंगो लगाएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको थियो ।