ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले“धुवैँ–धुवाँ राजमार्ग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कसैको घर कस्तो छ भनेर अनुमान लगाउन चर्पी हेरे पुग्छ । अहिले यही उक्तिसँग धरान उपमहानगरको डम्पिङ साइट मिल्दो छ । विगत ५ महिनादेखि कोशी राजमार्गको धरान–इटहरी सडक–खण्डको सेउती आसपास कुइरीमण्डल हुन्छ । धेरैले जाडो महिनामा लाग्ने हुस्सुमण्डल त्यही भन्ने ठान्छन् । तर यथार्थमा उक्त कुइरीमण्डल त्यही डम्पिङ साइटमा फोहोर जलाइएको धुवाँको हो । धुवाँको कारण विगत ५ महिनादेखि बिहान र बेलुका हिँडिनसक्नु हुन्छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “काम ढिलो हुँदा लागत ३ अर्ब नाघ्यो ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । निर्माण कार्यमा ढिलासुस्ती हुँदा विराटनगरमा सञ्चालित मझौला शहर एकीकृत शहरी परियोजनाको कुल लागत तीन अर्ब नाघेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित परियोजनाको लागत तीन अर्ब नाघेको हो । सन् २०१३ अगस्टमा सुरु भएको परियोजनाको समय सीमा मे २०१६ तोकिएको थियो । दुई अर्ब ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने गरी सीटीसीई कालिका जेभीले ठेक्का पाएको थियो । तर, ठेकदार कम्पनीले समयमा नै काम नसक्दा लागत बढेर ३ अर्ब रुपैयाँ माथि पुगेको छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “उप निर्वाचन नहुँदा नगर र वडामा समस्या” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान उपमहानगरमा मेयर पद खाली भएको ६ महिना पुगिसक्दा पनि निर्वाचनको टुंगो लागेको छैन । नगरकार्यपालिकाले मेयर पद खाली रहेको जानकारी दिएपछि सरकारले निर्वाचनको व्यवस्था गर्नुपर्ने प्रावधान छ । तर धरान नगरपालिकाले अहिलेसम्म सरकारलाई मेयर पद खाली भएको औपचारिक जानकारी दिएको छैन ।


औजार दैनिक : धारानबाट प्रकाशन हुने औजार दैनिकले “चलचित्र ‘समय को प्रिमियर धरानमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  त्रितान्सु फिल्म्स् प्रालिको ब्यानरमा निर्मित चलचित्र समयको धरानमा प्रिमियर शो हुने भएको छ । चलचित्रको प्रिमियर शो मंसिर २१ गते विष्णु मेमोरियल स्कुलमा, २३ गते गोर्खा सिनेफ्लेक्स हलमा र २४ गते युरेका स्कुलमा हुने बुधबार पत्रकार सम्मेलन गरेर फिल्म निर्माण टिमले जानकारी दिएको छ । शिक्षा सम्बन्धि बनेको चलचित्र समयको मुख्य भुमिकामा १४ वर्षिय शैव श्रेष्ठ रहेका छन् । उनको यो पहिलो चलचित्र हो । यसै चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेको शैवले पत्रकार सम्मेलनमा बताए । सुरेन्द्र शाहको निर्देशनमा निर्माण गरिएको चलिचित्रमा कलाकारहरु मानिका दाहाल, विशाल श्रेष्ठ लगायत निर्देशक सुरेन्द्र शाह आफैले अभिनय गरेका छन् ।