इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नमिठो हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वोल्भेससँग २–१ गोलले पराजित हुदै जारी लिगमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको हो । चेल्सीमाथि शनसनीपूर्ण जित निकालेको वोल्भेसका लागि राउल जिमिनेज र डिओगो जोटाले गोल गरे । यता, चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए । खेलको १८औं मिनेटमा लोफ्टसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर बाँकी समयमा चेल्सी आफै दबाबमा खेल्न पुग्यो । खेलको ५९औं मिनेटमा जिमिनेज र ६३औं मिनेटमा जोटाले गोल गर्दै चेल्सीविरुद्ध वोल्भेसलाई २–१ गोलको जित दिलाएका हुन् । हारसँगै चेल्सीले महत्वपूर्ण तीन अंक गुमाएको छ । चौथो स्थानमा रहेको चेल्सीको १५ खेलबाट ३१ अंक रहेको छ । त्यस्तै, वोल्भेसको भने १५ खेलबाट १९ अंक रहेको छ । त्यस्तै, बुधबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन् ।

एजेन्सी