महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उदयपुरकी एक गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । आर्थिक अभावका कारण समयमा उपचार गर्न नपाएर जिल्लाको बेलका नगरपालिका–६ की २९ वर्षीय गर्भवति सम्झना राईको मृत्यु भएको हो । सहज सुत्केरी गराउन उनी केही दिनअघि नै घरदेखि बेलका–९ रामपुरस्थित स्वास्थ्यचौकिको बर्थिङ सेन्टर नजिक पर्ने आफन्तकोमा आएकी थिइन् । तर आर्थिक अभावका कारण स्वास्थ्यचौकी नजिक आए पनि उपचार नपाएर सुत्केरी हुने क्रममा उनको मुत्यु भएको स्थानीयले बताएका छन् । केही दिनअघि मात्र बर्थिङ सेन्टर आएर स्वास्थ्य जाँच गराउँदा उनको बच्चा पेटमा उल्टो रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न अस्पताल जान सुझाएका थिए । तर, आर्थिक अवस्था कमजोर भएका कारण उनी सुविधासम्पन्न अस्पताल जान नसक्दा सुत्केरी हुन नसकेर ज्यान गुमाउनुपरेको हो । प्रसुति व्यथाले च्यापेपछि श्रीमानले टेम्पो चढाएर उनलाई स्वास्थ्य चौकी पठाएर भने आाफू पैसाको जोहो गर्न लाग्दालाग्दै स्वास्थ्य चौकी नपुग्दै उता श्रीमतीको मृत्यु भएको स्थानीय ललित राईले बताए । सरकारले निः शुल्क एयर एम्बुलेन्स हवाई सुविधाको व्यवस्था गरिरहेको बेला सम्झना जस्ता गर्भवति महिलाको उपचार अभावमा मृत्यु हुनु अत्यन्त दुःखद् घटना भएको उनले बताए । सरकारी सुविधा पाइन्छ भन्ने जानकारी नभएकी उनलाई स्थानीय सरकारले उपचारको व्यवस्था गरेको भए ज्यान आमा बच्चाको ज्यान बचाउन सकिने स्थानीयको आँकलन थियो ।आर्थिक अवस्था कमजोर, अशिक्षा, बेरोजगारीको कारण गर्भवति महिलाको ज्यान जाने गरेको प्रतिनिधि घटना सम्झनाको मृत्यु भएको उनले बताए ।
नागारिक पूर्वेली