ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “खै गाँउ–गाँउमा सिंहदरबार ? शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । संविधान निर्माणपछि गाँउ–गाँउमा सिंहदरबार भनेर सुन्दै आएका धरान १५ का यादव ओझाले उपमहानगर धाएको महिनौं भइसक्दा पनि सिंहदरबारको अनुभूत गर्न सकेको छैनन् । विगतमा जस्तो थियो , अहिलेको कार्यशैली उस्तै छ । वडाबाटै हुने जग्गाको सिफारीसका लागि उनले प्राविधिक अभावमा उपमहानगर कार्यालय पुग्नु परेको छ । तैपनि प्राविधिक भेट्टाउन मुस्किल परेको उनी बताउँछन् । खै गाँउ–गाँउमा सिंहदरबार भन्थे । नारामात्रै र छ उनले गुनासो पोखे । नियमानुसार एक वडामा एक प्राविधिक हुनुपर्ने हो तर अहिले धरानका २० वटै वडामा प्राविधिक अभाव छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “कृषि परियोजनाको नाममा ठगी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्त गरेर रोजगारदाता सम्पर्कबिहीन भएका छन् । मोरङ जिल्लामा परियोजनाका लागि नियुक्त गरेर रोजगारदाता कर्णली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहीन भएपछि १४ जना कर्मचारी श्रम कार्यालयमा पुगेका छन् । कर्मचारी नियुक्त गरी तीन महिनासम्म तलब भुक्तानी नगरी रोजगारदाता सम्पर्कबिहीन भएपछि तलबको माग गर्दै १४ जना कर्मचारीले श्रम तथा रोजगार कार्यलय विराटनगरमा उजुरी दिएका हुन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “नेशनल कलेजमा स्मार्ट कक्षा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान –२ स्थित नेशनल कलेजले आधुनिक शिक्षण विधि अपनाउँदै बुधबारदेखि स्मार्ट इन्टरेक्टिभ कक्षा सञ्चालन  गरेको छ । यसै शैक्षिक सत्रबाट वि.एड .आइ .टी कक्षा सञ्चालमा ल्याएको कलेजले आफ्नो कक्षा स्मार्ट इन्टरेक्टिभ प्रविधिबाट सञ्चालन गरेको हो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र डाक्टर विहीन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान–१७ स्थित रेल्वेमा रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिनादेखि डाक्टर विहीन भएको छ । १ महिना मेडिकल अफिसरको पद हाल रिक्त हुँदा त्यहाँ उपचार आउने विरामीले उपचार पाउन सकिरहेका छैनन् । गत असार महिनामा प्रर्वद्धन केन्द्रमा एक जना एमविविएस डाक्टर कार्यरत थिए । हाल केन्द्र एचएको भरमा सञ्चालन भैरहेको छ ।