स्पेनिस कोपा डेल रे फुटलबलमा मेलिल्लामाथि कीर्तिमानी जित निकाल्दै रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा कोपा डेल रेको अन्तिम ३२ को दोस्रो लेगमा मेलिल्लामाथि ६–१ गोलको जित निकाल्दै समग्रमा १०–१ गोलअन्तरसहित रियल अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलले पराजित गरेको थियो । दोस्रो लेगमा भारी गोल अन्तरले विजयी गराउन रियलका लागि मार्को एसेन्सियो र इस्कोले समान २–२ गोल गरे । त्यस्तै, सान्चेज डे फिलिपे र पाइक्छाओ डे ओलिभिरा जुनियरले समान १–१ गोल गरे । यता, मेलिल्लाका लागि यासिने क्वास्मीले एक गोल फर्काएका थिए । मेलिल्लाको पोष्टमा गोल वर्षा गर्ने क्रममा एसेन्सियोले खेलको ३३औं र ३५औं मिनेटमा गोल गरे । त्यस्तै, फिलिपेले खेलको ३९औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफसम्म तेब्बर अग्रता दिलाएका थिए । त्यस्तै, इस्कोले खेलको ४७औं मिनेटमा गोल गर्दै रियललाई ४–० गोलको अग्रता दिलाएका थिए । खेलको ७५औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ५–० गोलको फराकिलो अग्रता दिलाए ।
एजेन्सी