इटहरी:सुनसरीको इटहरीमा पोषणयुक्त खाद्य पदार्थको विषयमा जानकारी गराउने उद्देश्यले तीन दिने खाद्य मेला सुरु भएको छ ।

परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौ, असल पोषणका लागि खानेबानीमा सुधार गरौं भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मेलाको आयोजना गरेको हो । मेलाको पशु विकास तथा कृषि राज्य मन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्दै आफनै क्षेत्रमा उत्पादन हुने पोषिला खाद्यान्नहरु बानीको विकास गर्नु पर्नेमा जोड दिइन् । मेलाको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रदेस नम्वर १का प्रमुख प्रमोद कोइरालाले जानकारी गराएका थिए ।

इटहरी उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सह आयोजनामा सुरु भएको मेलामा जुम्लाको स्वाउ देखि लिएर झापाको घरेलु उद्योगले उत्पादनका गरेको पावर, पालुगो, आँटा, भुई स्वाउ, अलैची, मार्सी चामलसम्मका स्टलहरु रहेका छन् । ६० वटा स्टल रहेका मेलामा खाद्य प्रविधि सम्वन्धी अन्य स्टलहरु समेत रहेका छन । मेलामा जातिय तथा परम्परागत पोषिला खाद्यान्नहरुका विषयमा जानकारी देखि लिएर उत्पादक तथा उपभोक्ताहरुको प्रत्यक्ष जमघट भई बजार प्रवद्र्धनमा योगदान पुग्ने अनुमान गरिएको छ ।