पथरी: मोरङको पथरीशनिश्चरे १० मा भूटानी शरणार्थीको लागि व्यवस्थापन गरेको खानेपानी वस्तीमा वितरण गर्न खानेपानी पाइप विछ्याउने काम भइरहेको छ ।

शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)मार्फत लुथरन विश्व फेडेरेशनले शनिश्चरे शिविरमा रहेको खानेपानी नजिकको वस्तीमा समेत विस्तारका लागि पाइप उपलब्ध गराएको हो । नगरपालिका कार्यालय र स्थानीय उपभोक्ताबाट पाइप विछ्याउने काम गर्ने सहमति अनुसार ४ हजार ८ सय ७९ मिटर लम्वाईको पाइप विछ्याउने काम भइरहेको नगरपालिकाका प्राविधिक लिलाराज भट्टराईले बताए ।

तेस्रो मुलुक पुनर्वास गएपछि शरणार्थीको संख्या कम हुँदा शिविरमा रहेको २ वटा ट्याङ्कीबाट १ लाख ७० हजार लिटर पानी वस्तीमा पनि वितरण गर्ने योजनामा बनेर गत भदौ ८ गते दुवै पक्षबीच सम्झौता भएको थियो । यृूएनएचसीआरकी दमक प्रमुख अन्ना फेलोसी, लुथरनका पूर्वाञ्चल प्रमुख राजेन्द्रकुमार राउत र नगरपालिका प्रमुख दिलिपकुमार राई र खानेपानी उपभोक्ता समिति अध्यक्ष चन्द्र तामाङबीच सम्झौतापत्र आदान प्रदान भएको थियो । शिविर छेउको वस्तीका ७ सय घर परिवारका लागि खानेपानी वितरण हुनेछ । जसमा लागि नगरपालिका र स्थानीय उपभोक्ताबाट ११ लाख ४३ हजार ७ सय २८ रुपैयाँको लागत स्टिमेटमा पाइप विछ्याउने र पूर्ने कार्य अघि बढेको हो ।