धरान: बैंक तथा वित्तिय संस्थाहरुले ऋण लगानी गर्दा धितो भएमात्र लगानी गर्ने गरेकोप्रति असन्तुष्टी व्यक्त गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले अब सरकारले उद्यमशिल बन्ने परियोजना(योजना)लाई नै धितो राखेर कर्जा पाउने व्यवस्था सरकारले गर्न लागेको बताएका छन् ।

कैलाश विकास बैंकको धरानमा ७० औं शाखा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले नेपाललाई समृद्ध बनाउन सरकारले स्वरोजगार र उत्पादनलाई जोडदिने बताए । साथै उनले बैंकहरु जनताको सहज पहुँचमा हुन नसकेको पनि टिप्पणी गरे । उद्यमशील बन्न चाहने व्यक्तिहरुलाई उसको धितो नहेरी परियोजनालाई नै धितो राखेर कर्जा प्रवाह गर्ने र स्वरोजगार बनाउने व्यवस्था सरकारले गर्न लागेको मन्त्री आङ्बोको भनाई थियो । ‘बैंकहरुले के गर्न खोजेको भनेर हेर्नुभन्दा पनि धितो के छ भनेर मात्र लगानी गर्छ,’मन्त्री आङ्बोले भने,‘अब धितो हेर्ने होइन । परियोजना के छ ? त्यो हेरेर परियोजनालाई नै धितो राख्ने प्रबन्ध गर्नुपर्छ । सरकारले नीति बनाएर सबैलाई उद्यमशील, स्वरोजगार बनाउछ ।’ विकास र समृद्धिको लागि बैदेशिक लगानी मन्त्री आङ्बोले नेपालको सानो पुजीले मात्र विकास र समृद्धि ल्याउन सम्भव नभएको भन्दै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर विकास र समृद्धिमा मुलुकलाई अघि बढाउने बताए । यसको लागि नेपालमा चाडै लगानी सम्मेलन हुन लागेको पनि उनले बताए । अहिले बित्तिय क्षेत्रमा देखिएको तरलता अभावलाई पनि बैदेशिक लगानी भित्र्याउदा राहत मिल्ने उनको भनाई थियो । पछिल्लो समयमा बैंक तथा बित्तिय संस्थाहरुले तरलता अभाव देखाउदै लगानी गर्न मानिरहेका छैनन् ।

bank-2

मन्त्री आङ्बोले बैंक तथा वित्तिय संस्थाहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको करण पनि तरलता एवं पुजी अभाव भएको बताउ । बैंकले घरजग्गा, गाडीमा लगानी गर्दा उत्पादन नभएको र राजश्व पनि वृद्धि नभएको कारण बजारमा पुजी अभाव भएको धारणा राखे । साथै, संघ, प्रदेश र स्थानीय गरी तिनै तहका सरकारले पहिलो चौमासिकमा ८ प्रतिशत मात्र पुजीगत खर्च गरेको कारण पनि तरलता आएको उनले बताए । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले बैंकहरुले व्यावसाय गरिरहेकाहरुलाई मात्र कर्जा दिने गरेको भन्दै असन्तुष्टी जनाए । बैंकले बेरोजगारहरुलाई रोेजगार सृर्जना गर्नुपर्ने भन्दै उनले स्वरोजगार बन्न चाहने र बेरोजगारहरुलाई उद्यमशील बन्नको लागि लगानी गर्न आग्रह गरे । मितेरी विकास बैंकका सिइओ तुलसीप्रसाद वस्तीले नयाँ बैंकको उपस्थितिले धरानबासी, व्यापारी, व्यवसायीहरुले लाभ पाउने बताए । कैलाश बैंकका सहायक महाप्रबन्धक सुर्यप्रसाद तिवारीले संस्थामा हाल २ अर्ब ५२ करोड चुक्ता पुजी रहेको जानकारी दिए । यस्तै, २४ अर्ब ५२ करोड निक्षेप र २२ अर्ब ३८ करोड कर्जा लगानी भएको जानकारी दिदै उनले भने,‘सेयरधनीलाई राम्रो लाभांश र ग्राहकहरुलाई सन्तुष्टी दिएका छौ ।’