धरान:उदयपुरको मैनामैनीको ऐतिहासिक, धार्मिक, तथा साँस्कृतिक क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ‘प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५’ आगामी पौष १ गतेदेखि हुने भएको छ ।

‘पर्यटनको सम्भावना, पर्यटनमा सहभागिता र पर्यटनको समृद्धि’ भन्ने मुल नाराका साथ बेलका नगरपालिका वडा नम्बर ७ को आयोजनामा एक हप्तासम्म महोत्सव सञ्चालन हुने भएको हो । पहिलो पटक आयोजना गरिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरु, अग्यानिक कृषिका बस्तुहरु, पर्यटन सम्बन्धीका विभिन्न जानकारी, चित्रकला प्रदर्शनी, सस्तो बजारलगायतका ३० वटा स्टलहरु रहने धरानमा गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष सुरेन्द्र राईले बताए । महोत्सव अवधिभर दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु राखिने भएको छ भने विभिन्न खेल तामासाहरुको स्टल तथा भलिवल, व्याटमिन्टलगयतका खेलकुद प्रतियोगिता समेत हुने अध्यक्ष राईले बताए ।

उनका अनुसार चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ उडान, रानीटारबाट दैनिक ¥याफ्टीङ, कोशी टप्पु बन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, १७० फिट लम्बाइको कोलोहाङ् झरना, चम्पाकेही र जाल्पादेवी दर्शन, मैनारानी दवीको दर्शन प्रमुख आकर्षणको रुपमा रहेको छ । त्यसैगरी, मैनामैनी आसपासका ऐतिहासिक क्षेत्र तथा पर्यटकीय क्षेत्रहरुलाई पनि प्रमुख आकर्षणको रुपमा राखिएको छ । बेलका नगरपालिकाका मेयर दर्गाबहादुर थापा (स्वस्ती)ले नगरपालिकाले अहिले उत्पादन वर्ष मनाइरहेकोले महोत्सवले धेरै भुमिका खेल्ने बताए । महोत्सव अबधिभर ६० देखि ८० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्राउने मेयर थापाले दाबी गरे । उनले नगर क्षेत्रको विकासको लागि आफुहरुले पर्यटन सम्बन्धीका विभिन्न प्याकेजहरु तयार गरेको समेत बताए । रानिटारदेखि चतरासम्मको ¥याफ्टीङ सञ्चालन गर्न नगरपालिकाले ठुलो भुमिका रहेको बताउदै यस क्षेत्रको बेरोजगार यूवाहरुलाई रोजगार सिर्जना गर्ने उद्देश्यले पर्यटन र कृषिलाई जोड दिएको उनले बताए ।

मैनामैनीमा राम्रो सडक सञ्जाल नभएको अवस्थामा अहिले छोटो समयमा सबै क्षेत्रमा यातायात पुगेको बताए । ‘चुनावीसभामा सहभागी हुँन जाँदा गाडी चल्दैनथ्यो, सडक भएपनि पैदल हिड्नु पर्थ्यो तर, अहिले म गाडी चडेर जान्छु,’ उनले भने,‘गाडी चलेर मात्र म विकास भयो भन्दिन त्यस क्षेत्रका जनताको पहुँचमा हुँनुपर्यो, त्यसको लागि आर्थिक स्तर उकास्ने नै हो ।’ नगरपालिकाले निजि क्षेत्रसंग साँझेदारी गरेर अगाडी बढिरहेको समेत उनले बताए । ‘हमीले कुनै पनि काम पर्खिराख्दै नौ, नगर्नु भन्दा केही भएपनि गर्नुपर्छ भनेर यो महोत्सव समेत लगाउँदै छौं ।’ उनले थपे । त्यसैगरी, प्रदेश १ की सांसद अम्बिका थापाले मैनामैनी क्षेत्र ऐतिहाशिक क्षेत्र भएकोले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।