धरान: खोटाङको चिप्रिङ पुख्यौली थलो भएका धरान १६ निवासी मनिकुमार निनाम्बुँवाछा राईले २२ बर्षसम्म खोज, संकलन गरेर किरात रुवोदुङ चाम्लिङ निनाम्बुँवाछा वंशावली प्रकाशनमा ल्याएका छन् ।

शनिबार धरान १७ स्थित किरात राई यायोक्खा प्राकस भवनमा आयोजित एक समारोहबीच यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईसहित विशिष्ट अतिथिहरुले किरात रुवोदुङ चाम्लिङ निनाम्बुँवाछा वंशावलीको विमोचन गरिएको थियो । आफ्नो परिवारको वंशावली खोज्नेक्रममा बुढापाकाहरुसँगको भेटले सबैको वंशावली खोजी र सकलन गर्ने प्रेरणा मिलेर लागिपरेको लेखक, संकलन एवं प्रकाशक राईले बताए । उनले २०५३ वैशाख २ गतेदेखि वंशावली खोजी र संकलन गर्न थालेका थिए ।

विविध कारणले बसाईसराईको क्रममा दाजुभाईहरु टाढिएको र चिनजान पनि हुन छोडेकोले आफुलाई वंशावली संकलन गर्ने प्रेरणा जागेको संकलक राईले बताए । ‘आफ्नो दाजुभाई, नाता कुटुम्बहरुको चिनजानै हरायो, त्यसैले वंशावली खोज्नुपर्यो भन्ने लाग्यो । शुरुमा आफ्नै मात्र खोज्ने मन थियो, तर खोज्दै जादा धेरै भेट्दै गए, र पुरा वंशकै वंशावली तयार भयो,’उनले भने ।

47473838_296415177881914_5222637986637676544_n

वंशावली संकलनको क्रममा खोटाङदेखि भोजपुर, उयपुर, इलाम, पाँचथरलगायत नेपालको विभिन्न जिल्लामा उनी पुगेका थिए । त्यसपछि, भारतको सिक्किमतिर पनि आफ्ना थुप्रै वंशहरु उनले फेला परे । करिब २२ बर्षको अवधिमा खोज गर्दा भेटेका सबैलाई उनले पुस्तकमा समेटका छन् । ‘किताबमा १८ वटा मुन्धुम पनि लेखिदिएको छुँ,’उनले भने,‘उत्पत्तिकालदेखि हामी कसरी किराती भयौ, चाम्लिङ भयौ र निनामबुँवाछा भयौ भन्ने कथा पनि राखेको छुँ ।’

कार्यक्रममा प्रमुख अतिथि एवं यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले आफ्नो वंशको इतिहास खोजी गरेर वंशावली प्रकाशन गर्नु महान् कार्य भएको बताए । यस्तै, विमोचन समारोहमा सिक्किमबाट आएका विष्णु राई, अग्रज बुद्धिजिवि रामु राई, खोटेहाङ गाउपालिका ५ का वडाअध्यक्ष किरण राईलगायतले पनि मन्तव्य राख्दै वंशावली प्रकाशन हुनु निनामबुँवाछा वंशको लागि अहिलेसम्मकै ऐतिहासिक कार्य भएको बताए । वडाअध्यक्ष किरण राईले भने,‘उहाँलाई जति प्रशंसा गरेपनि पुग्दैन, सम्मानको भागिदार हुनुहुन्छ ।’