सोनु तामाङले आक्रामक ब्याटिङ गरेपछि तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । सोनु २४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै नट आउट रहे । उनलाई अन्तिमतिर सन्दीप जोरालेले पनि उत्कृष्ट ब्याटिङ गर्दै साथ दिए । उनले मात्र ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा नट आउट रहे ।

त्यसअघि गौरव तोमरले २९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाउँदा जय किशन कोल्सावालाले २० रन जोडे । सन्नी पटेलले १३ बलमा १ छक्कसहित १९ रन जोड्दा कुशल भुर्तेल र कप्तान ज्ञोनेन्द्र मल्लले समान ३ रन बनाए । चितवनका लागि जर्ज स्कटले ३ ओभरमा १ मेडन सहित २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै पाउल स्टर्लिङ,कमलसिंह ऐरी र ललितसिंह भण्डारीले पनि समान एक विकेट लिए ।