इटहरीः प्रदेश राजधानीको रुपमा परिकल्पना गरिदै आएको पुर्वको केन्द्र सहर हो इटहरी । पछिल्लो समय व्यापारिक, शैक्षिक, खेलकुदको केन्द्रकोरुपमा पनि स्थापित हुदै गइरहेको छ । ठुल ठुला सपिङ मल, होटलहरु एकपछि अर्को खुल्ने क्रमले पनि सबैको ध्यान इटहरीले तान्न सफल छ ।

तर, पछिल्ला निरन्तरको केही घटनाहरुले इटहरी असुरक्षित सहर पनि हो कि भन्ने आम जनमानसमा परेको छ । यहाँ सर्वसाधारण र व्यावसायीहरुलाई सुरक्षाको चिन्ता बढाएको छ । मंसिर १२ गते बुधबार दिउँसै विराटनगर लाइनमा सञ्चालकलाई छुरा प्रहार गरेर एक्टिभ मनि ट्रान्सफर लुटपाट भयो । यो घटनाले प्रहरीलाई ठाडै सुरक्षा चुनौती दियो । पैदल आएका लुटेराले सञ्चालकलाई छुरा प्रहार गरेपछि पैदल नै उम्कन सफल भए । हुन त कुख्यात लुटेर राजन लिम्बूलाई प्रहरीले राजधानीबाट पक्राउ गरिसकेको छ । तर, घटना हुनै नदिनु राज्य र प्रहरीको पहिलो दायित्व हो ।

यो घटनाभन्दा अघि इटहरीमा थुप्रै चोरीका घटनाहरु भएको थियो । इटहरी उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्ट व्यापारीमाथि दिनदहाडै धम्की र लुटपाटको घटनाले व्यापारीहरु त्रसित भएको बताउँछन् । प्रहरीसँग शान्ति सुरक्षाका विषयमा थुप्रै पटक छलफल भएपनि ठोस कदम नचालिएको उनको भनाई छ । ‘यसपाली चाडपर्वमा ठुलो घटना त भएन, तर पछिल्लो घटनाले फेरी सुरक्षा कमजोरी उजागर भयो । व्यापारीहरुमा त्रास फैलिएको छ,’विष्टले भने । उनले व्यापारीहरुलाई पनि आफ्नो सुरक्षा प्रबन्ध गर्न सीसी क्यामेरा जडान गर्न अपिल गरिसकेको बताए ।

उद्योग बाणिज्य संघ इटहरी तरहरा शाखाका कार्यवाहक अध्यक्ष सुदर्शन खड्का शान्ति सुरक्षाप्रति प्रहरी प्रशासन र स्थानीय तह गम्भीर हुनुपर्ने बताउँछन् । चाडपर्वको समयमा तरहरा बजारमा सुरक्षा गार्ड राख्नुपर्ने स्मरण गर्दै उनले भने,‘प्रहरीले सुरक्षा गस्ती बढाउनुपर्ने देखिन्छ ।’ तरहराको सीसी क्यामेरा बिग्रिएकोले पनि सुरक्षा चुनौती थपिएको खड्काले बताए । इटहरीको ब्यस्त बजारमा पनि सीसी क्यामेरा बिग्रिएर थन्किएको छ । इटहरी–धरानको ६ लेन बाटो निर्माण भईरहेकोले पनि समस्या भएको उनले बताए ।

तरहरामा पनि केही समयअगाडि फुटसल र सपिङ सेन्टरमा चोरी भएको थियो । घटनामा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् । उपमहानगरपालिकाले रात्रीकालीन बजार लगाउने चर्चा चलिरहेको छ । यस्तो बेला दिउँसै भएको लुटपाट र छुरा प्रहारको घटनाले रात्रीकालिन बजारलाई पनि सुरक्षा चुनौती दिएको छ । इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले भने शान्ति सुरक्षाप्रति प्रहरी गम्भीर भएर लागिपरेको दाबी गर्छन् ।