तेह्रथुम  :तेह्रथुममा पौष २ गतेबाट हुने जिल्लाकै सर्वाधिक राशीको पहिलो भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानले आज विहान पत्रकार सम्मेलन गर्दै पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको हो । प्रदेश नंं. १ का १० टिम सहभागी हुने प्रतियोगितामा ‘ए’ पोलतर्फ तेह्रथुम, र संखुवासभा तथा पाँचथर र मोरङ भीड्नेछन् भने उदयपुर बाइमा परेको छ । यस्तै ‘बी’ पोलतर्फ ताप्लेजुङ र इलाम तथा झापा र सुनसरी भीड्ने भएका छन् भने धनकुटा वाइमा परेको छ । आयोजकले चिठ्ठाबाट टाईसेट तयार गरी सार्वजनिक गरेको हो ।

प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने प्रचार प्रसार समितिका संयोजक जुली सुब्बाले बताए । पौष २ गतेबाट ७ गतेसम्म सन्चालन हुने प्रतियोगिता सन्चालनमा २५ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिभर जिल्लाको पहिचान झल्किने मौलिक संस्कृति र मौलिक खानाहरुको स्टलहरु समेत राख्ने तयारी रहेको छ । जिल्लामा यसअघि फुटबलका लागि आवश्यक मैदान नहुँदा ठुला प्रतियोगिताहरु सन्चालन हुने गरेका थिएनन् ।