धरान: बजार अनुगमनलाई निरन्तरता दिदै धरान उपमहानगरपालिकाले आइतबार धरानको मेडिकल पसलहरुको अनुगमन गरेको छ । 

प्रहरी, प्रशासन, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधिलगायत सहभागी अनुगमन टोलीले आइतबार ११ वटा मेडिकल पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा ३ वटा पसलबाहेक अरुमा आधिकारिक लाइसेन्सवाला व्यक्ति नभेटिएको अनुगमन अधिकृत दिवस अधिकारीले बताए । धरानको चतरालाइनस्थित धनलक्ष्मी मेडिकल, परिसा फर्मा र छाताचोक उत्तरमा अवस्थित लर्ड बुद्ध मेडिकलमा मात्र लाइसेन्सवाला व्यक्ति भेटिएको थियो । अन्य सबै मेडिकलहरुमा अनधिकृत व्यक्तिले औषधी बिक्री गरिरहेको पाइएको उनले बताए ।

अधिकृत अधिकारीका अनुसार ती सबै मेडिकललाई अनिवार्य लाइसेन्स लिने व्यक्ति बसेर मात्र औषधी बिक्री गर्न अनुगमन टोलीले पत्र थमाएको छ । अर्को पटक पनि अनुगमनमा आउदा लाइसेन्सवाला व्यक्ति नभेटिए कारबाही गर्ने जानकारी दिएको पनि उनले बताए । ‘धरानको मेडिकलको मुख्य समस्या लाइसेन्स जस्ले लिएको हो, ती व्यक्ति नै नबस्ने रहेछन्,’अधिकारीले भने,‘जो भेटिए, उनले कोही भर्खर खाना खान गएको, कसैले बिपीमा इन्सुलिन लगाउन गएको, कसैले नमाज पढ्न गएको छ भने । हामीले पत्र थमाएका छौ, अर्को पटक लाइसेन्स भएको मान्छे भेटिएन भन बन्द गराउछौ, भनेका छौ ।’

ausadi 2

विगतमा औषधी पसलहरुको नियमन गर्ने निकाय औषधी व्यवस्था विभाग मात्र हुन्थ्यो । विभागको क्षेत्रीय कार्यालय विराटनगरमा मात्र भएको र जनशक्ति अभावमा विरलै मात्र मेडिकलको अनुगमन हुन्थ्यो । अहिले भने स्थानीय तहलाई पनि अनुगमन गर्ने अधिकार आएको छ । धरान उपमहानगरका स्वास्थ्य संयोजक घनश्याम सिग्देलले जसले लाइसेन्स लिएको हुन्छ, ती व्यक्तिले बाहेक अन्यले औषधी बिक्री गर्नु गैरकानुनी हो । ‘मेडिकल किराना पसलजस्तो होइन । एउटा दबाई भनेर अर्को दियो भने मान्छेको ज्यानै जान्छ । त्यसैले जसले लाइसेन्स लिएको छ, उसले बाहेक अरुले औषधी बेच्न कानुनले दिदैन,’उनले भने,‘उपमहानगरले त्यस्तो गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ, ल्याउछ ।’