तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट

तेह्रथुम तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ । सुन्तलाको फुल खेल्ने समयमा पानी नपरेको र सुख्खा भएको कारणले विगत भन्दा यो वर्ष कम फलेको हो । फलेको सुन्तला पोहोर जस्तो राम्रो छैन । दाना पनि सानो लागेको छ । सुख्खा र खडेरीले गर्दा यो वर्ष सुन्तला नफलेको म्याङलुङ नगरपालिका–४ का किसान शिव निरौलाले बताए ।

केहीको बगानमा स्याहार नपुगेकाले पनि सुन्तलाको बोटमा रोग आएको किसानले बताउने गरेका छन् । यो वर्ष विगत वर्षको भन्दा कम सुन्तला फलेको म्याङलुङ नगरपालिका–४ का अर्का किसान खेमप्रसाद भटराईले बताए । उहाँले गत बर्ष सुन्तलाबाट डेढ लाख रुपैयाँ आम्दानी गर्नुभएको पनी जानकारी दिए । तर यो वर्ष सुन्तलाको फुल फुल्ने र फल लाग्ने समयमा मौसम परिवर्तनको कारणले गर्दा सुन्तला, कागती लगायत अन्य फलफुलमा समेत असर पारेको उनले बताए ।


"अघिल्लो समयको तुलनामा सुन्तला पातलो फलेको र फल पनि सानो लागेको छ" म्याङलुङ नगरपालिका ४ कि निर्मला दाहालले गुनासो गर्दै भनिन् । सुन्तलाको फल लाग्ने समयममा खडेरी र असिना पानीले गर्दा सुन्तला नफलेको छथर गाउँपालिका फाक्चामाराका अर्का किसान त्रिलोचन लुईटेलले बताए ।
उत्पादन कम भएको समयमा बजारमा सुन्तलाको मुल्य भने बढि रहेको छ । अहिले म्याङलुङ बजारमा सुन्तला प्रति केजी ८० देखी ९० रुपैँयाको दरमा विक्रि भइरहेको छ । तेह्रथुमको ६ वटै स्थानिय तहमा सुन्तलाको खेती गर्ने गरिएपनि विशेष गरी जिल्लाको फेदाप गाउपालिकाको जलजले, म्याङलुङ नगरपालिका, आठराई गाँउपालिकाको छातेढुंगा, ईवा, छथर गाँउपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा एक हजार १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरीन्छ । यहाँ उत्पादन भएको सुन्तला पुर्वको धरान, इटहरी, विराटनगर, भापातर्फ पनि निर्यात हुने गर्दछ ।