काठमाडौ: नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आइतबार लिग वनको उपाधि जितेको छ । सोहि क्रममा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए ।

अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका थिए । रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मदतले पर्सिजाले लिग उपाधि जित्न सफल रहयो । अन्तिम खेलमा मिट्रा कुकारलाई २-१ ले पराजित गर्दै पर्सिजाले लिग उपाधि जितेको हो ।

लिगको ३१ खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरे । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए । मिडफिल्डको मध्यभागमा खेल्ने रोहितले अग्रपंक्तिलाई पास उपलब्ध गराउनुका साथै विपक्षीको बल खोस्ने जिम्मेवारी पनि वहन गर्दै आएका छन् ।

निरन्तर राम्रो प्रदर्शनसँगै टोलीमा नेतृत्व क्षमता बोकेका र प्रभावकारी प्रदर्शन गर्ने खेलाडीलाई मनोनयनमा राखिएको समितिले यसअघि जानकारी दिएको थियो । यी सबै पक्षमा रोहित उत्कृष्ट सावित हुँदै प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए ।