धनकुटा: धनकुटाको चौबिसे क्षेत्रमा रहेको ऐतिहासिक माता खादले सिद्धदेवीको संरक्षण, संर्वद्धन, विकास र प्रर्वद्धनमा सहयोग गर्न स्थानीयले प्रदेश सरकारसँग माग गरेका छन् ।

चौबिसे गाउँपालिकामा आयोजित न्यानो कपडा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी प्रदेश १ का वन,पर्यटन तथा उद्योगमन्त्री जगदीश कुर्सियतसँग स्थानीयले यस्तो माग गरेका हुन् । सिद्धदेवी व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णगोविन्द चेम्जोङले मन्त्री कुर्सियतलाई एकसुत्रीय माग राखेको जानकारी दिए । उनका अनुसार सिद्धदेवीको संरक्षण, विकास र प्रर्वद्धन(प्रचारप्रसार) गरिदिन मागपत्र मन्त्री कुर्सियतलाई बुझाइएको थियो । सिद्धदेवीको मन्दिर चौबिसे गाउँपालिका ७ स्थित मौनाबुधुकमा अवस्थित छ । यो मन्दिर ऐतिहासिक मानिन्छ । स्थानीयका अनुसार करिब २ सय बर्षअघि निःसन्तान धनराज लिम्बूले राती सपनामा जमिन खोतलेर देवी फेला पर्ने र पुजा गर्दा सन्तान हुने भन्ने सन्देश पाए । उनले त्यसरी नै जमिन खोतलेर हेर्दा ढुंगाको मुर्ति फेला परेपछि पुजा गरेपछि छोराको जन्म भएको कथा स्थानीयहरु बताउँछन् ।

धनराजको छोरा दलबहादुर थिए । यही ऐतिहासिक सिद्धदेवीलाई संरक्षण, विकास र प्रर्वद्धन गर्न स्थानीयले प्रदेश सरकारसँग माग गरेका हुन् । यहाँ हरेक बर्ष रामनवमीको दिन ठुलो मेला लाग्ने गर्छ । सन्तान नहुनेहरुले यहाँ पुजा गर्ने र सन्तान प्राप्ती हुने विश्वसा छ । सन्तान भएपछि एकपटक देखाउन लैजानुपर्छ । बोली नआएका बच्चाहरुलाई पनि यहाँ दर्शन गराउन लगेमा बोली आउने विश्वास छ । ‘यहाँ पुजारी छैन । भोगवली पनि हुदैन । सेतो परेवा उडाउनुपर्छ । फुल, अक्षेता लगेर चढाउनुपर्छ । कुनै जातिय, लैगिक विभेद छैन,’उपाध्यक्ष चेम्जोङले भने,‘नजिकै कुण्ड छ, त्यहाँको पानी अभिषेक गर्नुपर्छ ।’

राजारानी र गढीथुम्की पनि संरक्षण र विकासको माग चौबिसे गाउँपालिका वडा नं ५ का अध्यक्ष पदम देवानले पनि मन्त्री कुर्सियतसँग खानेपानीको माग गरेका थिए भने पर्यटकीयस्थल राजरानी ताल र बोधेस्थित गढीथुम्कीको संरक्षण, विकास र प्रर्वद्धनको माग गरेका थिए । अध्यक्ष देवानले पनि मन्त्री कुर्सियतलाई माग पत्र दिदै वडाबासीलाई खानेपानीको समस्या रहेको जानकारी दिदै आवश्यक योजना वा बजेटको माग गरेका थिए । यस्तै, पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको राजारानी ताल र गढीथुम्कीलाई प्रदेश सरकारले विकास, संरक्षण र प्रर्वद्धनमा आवश्यक बजेट, योजना दिन पनि माग गरे । मन्त्री कुर्सियतले पनि चौबिसे क्षेत्रको पुर्वाधार विकास र पर्यटनको विकासमा आवश्यक बजेट दिने आश्वासन दिए । उनले भने,‘चौबिसेको विकास, पर्यटनको लागि प्रदेश सरकारबाट आवश्यक बजेट दिन्छौ ।’