ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “हाइब्रीडले रैथाने बीउ सङ्कटमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । हाइब्रीड बीउका कारण रैथाने बीउ हराउदै गएको छ । धेरै उत्पादन हुने भन्दै हाइब्रीड उन्नजातका बीउमा किसान लोभिन थालेपछि रैथाने बीउ सङ्कटमा परेको हो । नेपालको अर्थतन्त्रमा एक चौथाइ योगदान कृषिको छ । कुल जनसङ्ख्याको दुई चौथाई कृषिमा आश्रित छन् । कृषिमा संलग्न जनसङ्ख्याको आधारमा कृषि उत्पादन भने न्यून छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “करोडौं उठाएर सुन व्यापारी फरार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । एक सुन व्यापारी ग्राहक र बैंकको करोडौं रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगर जलजला चोकमा सुन पसल सञ्चालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौं रुपैयाँ ऋण लिएर भागेका हुन् । तीन वटा बैकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करिब १३ करोड रुपैयाँ लिएर लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका सन्तोषकुमार बेगवानी भागेका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “रहेनन् धरानका मूर्तिकला र चित्रकलाका साधक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मानिस जिउँदो हुञ्जेल उनले गरेका राम्रा कामको योगदानको मुल्याकन चर्चा गरिन्न । तर मरेपछि भने उनको खुबै प्रशंसा गरिन्छ । चर्चा पनि बढी त्यस्ता व्यक्तिहरुका गरिन्छन् । जो शक्तिमा पुगेका हुन्छन् । धरानको चित्रकला, मूर्तिकलाको इतिहासमा विर्सनै नहुने व्यक्तित्व , फुलको खेती तथा फ्लोरीकल्चरका शुरुआतकर्ता योगेन्द्र लिम्बुले त्यसैगरी यो दुनियाबाट प्रस्थान गरेका छन् । उनको हृदयाघात बाट ७२ वर्षको उमेरमा निधन भएको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “बच्चाको हत्या गरेको आरोपमा महिला पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । संखुवासभाको खाँदबारी नगरपालिका–६ मयममा आइतबार अवैध गर्भभारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ पुल सञ्चालनले भद्रपुरबासी उत्साहित ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पटक–पटकको शिलान्यासपछि निर्माण भएको नेपाल–भारत जोड्ने मेची पुलको उद्घाटन मिति तय भएको छ । मंसिर २६ मा प्रधानमन्त्री केपी ओलीले पुल उद्घाटन गर्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । साढे छ दशकदेखिको निरन्तरको प्रयासबाट पूर्वी सीमा क्षेत्रमा नेपाल–भारत जोड्ने अर्को एउटा महत्वपूर्ण पुल उद्घाटन हुन लागेको हो । पुरानो सीमा नाका भद्रपुर– गलगलिया जोड्ने गरी मेची खोलामा ५६० मिटर लम्बाइको पुल निर्माण भएको छ । ८ महिनाअघि नै पुल निर्माण सम्पन्न भए पनि बाटो निर्माणमा ढिलाइ हुँदा उद्घाटन मिति पछि धकेलिएको हो । मुआब्जाबारे लामो विवादपछि अहिले पुलसम्म पुग्ने बाटो निर्माणको कार्य धमाधम भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालयले स्थानीय २२ घरपरिवारलाई मुआब्जा वितरण गरेपछि पुलसम्म पुग्ने बाटो खुलेको हो ।