सुनसरी: इटहरीका युवा व्यवसायी गोपाल घिमिरेलगायतले अढाइ करोडको लागतमा होटल उत्सव सञ्चालनमा ल्याएका छन् । उक्त होटलको सोमबार एक कार्यक्रमबीच नेकपाका नेता योगेश भट्टराईले रिबन काटेर उदघाटन गरेका थिए ।

अत्याधुनिक सुविधासम्पन्न यो होटलको अग्रभागमा ४० फिट अग्लो आकर्षक नेपालको राष्ट्रिय झण्डा अंकित छ । यो झण्डाले होटलप्रति सबैको आकर्षण बढाएको छ भने होटल नै झण्डा होटलको नामले समेत परिचित र चर्चित हुन थालेको छ । होटलमा अत्याधुनिक सुविधासहितका २२ वटा कोठा र २ वटा सेमिनार हलको पनि व्यवस्था गरिएको सञ्चालक घिमिरेले बताए । सुपथ मूल्यमा स्टार लेवलको सुविधा उपलब्ध गराउने होटलको दावी छ ।

उदघाटन समारोहलाई प्रदेश सांसद सर्वध्वज साँवा,इटहरीकी उपमेयर लक्ष्मी गौतम, संविधानसभाका पूर्वसभासद रेवतीरमण भण्डारी र उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।