धरान: लैङ्गिक हिंसामुक्त धरान बनाउन १२ बुँदे प्रतिवद्धता जारी गर्दै १६ दिने लैगिक हिंसाविरुद्धको अभियान समापन गरिएको छ ।

महिला सञ्जाल धरानको आयोजना, धरान उपमहानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यालयसँगको सहकार्यमा आयोजित अभियानको समापनमा धरानका राजनीतिक दल, जनप्रतिनिधिहरु, प्रहरी, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले १२ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्दै प्रतिवद्धता जनाएका छन् । धरान १५ स्थित सदन सभाहलमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले प्रतिवद्धतामा हस्ताक्षर गर्दै शुभारम्भ गरेका थिए । त्यसपछि, सांसदद्वय उमिता बराइली, सावित्री जोशी श्रेष्ठ, डिएसपी सुमन तिम्सिना, कांग्रेस नगर सभापति तिलक राई, पत्रकारहरु, वडाअध्यक्षहरुसहितले पनि प्रतिवद्धतामा हस्ताक्षर गरे ।

aIMG_7599

धरानलाई लैङ्गिक हिंसामुक्त बनाउन प्रतिवद्धतामा हस्ताक्षर गराएको आयोजकको भनाई छ । उक्त प्रतिवद्धतालाई सबैले पालना गर्न पनि महिला सञ्जाल, उपमहानगरपालिकाले आग्रह गरेको छ । प्रतिवद्धताको पहिलो बुँदामा सबैले आआफ्नो ठाउँबाट समुदायसम्म महिला अधिकार, लैगिक हिंसा अन्त्य सम्बन्धमा बनेका नीतिगत तथा कानुनी व्यवस्था तथा लैगिक समानता सम्बन्धी जानकारीमुलक र सचेतनात्मक क्रियाकलपा सञ्चालन गर्ने प्रतिवद्धता रहेको । यस्तै, परम्परागत गलत लैगिक मान्यतालाई प्रर्वद्धन गर्ने सञ्चार सामग्रीलाई निरुत्साहित गर्ने पनि उल्लेख छ ।

लैङ्गिक हिंसा अन्त्य तथा लैगिक समानताका लागि आ-आफ्नो निकायको लैगिक संवेदनशील आचारसंहिता निर्माण गर्ने, लैगिक हिंसा पीडितको सामाजिक सुरक्षामा विशेष ध्यान दिदै पीडितहरुको गोपनियताको अधिकार सुनिश्चित गर्ने, आफ्नो कार्यालय तथा कार्यक्षेत्रमा लैंगिक हिसाबले संवेदनशील भएर भाषा प्रयोग गर्ने पनि १२ बुँदे प्रतिवद्धतामा उल्लेख छ ।

aIMG_7601