इटहरी: इटहरी उपमहमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गत भदौ ३१ गते आयोजित पत्रकार सम्मेलनमा रात्रीकालीन बजार लगाउने उद्घोष गरेकी थिइन् । ‘शान्ति सुरक्षाको प्रबन्ध हुन्छ, र यही कात्तिकभित्र इटहरीमा रात्रीकालीन बजार लगाउने गरी काम अघि बढाउछौ,’त्यसबेला उनले भनेकी थिइन् ।

इटहरीमा रात्रीकालीन बजार दसै र तिहारको बीचमा शुरु हुने उपमेयर गौतमको ठोकुवा थियो । तर, मंसिर अन्तिम साता पुगिसक्दा पनि इटहरीमा रात्रीबजार लाग्ने छाटकाट छैन । उपमेयर गौतमको ठोकुवा भाषणमा मात्र सीमित भएको इटहरीका व्यापारीहरु बताउँछन् । इटहरीको आइतबारेदेखि टेलिकमसम्म रात्रीकालीन बजार लगाउने चर्चाभएको थियो । तर, त्यो चर्चा र जनप्रतिनिधिको ठोकुवा बोलीमा मात्रै सीमित भएको होटल व्यवसायी गजेन्द्र बहादुर प्रधान बताउँछन् । उनले भने,‘दिवा बजार त व्यवस्थित हुन सकेको छैन, रात्रीकालीन बजार त झन् जटिल बिषय हो । निक्कै चुनौती देख्छुँ । ’

अर्की होटल सञ्चालिका भीमादेवी प्रधानले पनि रात्रीकालीन बजार लगाउने कुरा हल्लामा मात्र सीमित भएको बताइन् । उपमहानगरले पहिला बजार अनुगमन गरी भौतिक पूर्वाधार तथा सुरक्षा प्रदान गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । ‘रात्री बजार लाग्छ भन्ने आशा छैन,’उनले भनिन्,‘तयारी विना हल्ला मात्र गरियो ।’ इटहरी उपमहानगरपालिकाको ३० औ कार्यपालिका बैठकले आइतबारेदेखी टेलिकमसम्म रात्रीकालीन बजार लगाउने निर्णय गरेको थियो । आइतबारे लाइनमा होटल सञ्चालन गर्दै आएका विशाल अधिकारी पनि रात्रीकालीन बजार लाग्नु सकारात्मक भएपनि तोकिएको समयमा काम नभएकोमा गुनासो गर्छन् । उनी भन्छन्,‘लगाउने नै इच्छा हो भने योजना बनाएर कार्यान्वयन गर्नुपथ्र्यो, भाषण मात्र गरेर त कसरी लाग्छ ?’ नगरपालिकाले पूर्व योजना बनाएर काम गर्नपर्ने उनको सुझाव छ । सुरक्षाका लागि इटहरीमा सीसी क्यामेर जडान देखि लिएर सौर्य बत्ती जडानसमेत गर्नपर्ने उनले बताए ।

इटहरीकी उपमेयर गौतमले रात्रीकालीन बजार लगाउनेको घोषणा भएपनि मापदण्ड नबनेको कारण कार्यान्वयनमा आउन नसकेको बताइन् । ‘मापदण्ड तयार गर्ने काम भइरहेको छ, उपभोक्ता समिति पनि बनाएर त्यहाँ बजार लगाउने हो,’आफुले भनेको समयमा काम गर्न नसकेको स्वीकार गर्दै उनले भनिन्, ‘त्यसका लागि तीन, चार महिना लाग्नसक्छ ।’ यद्यपी, उनले यो बर्षभित्र इटहरीमा रात्रीकालीन बजार लगाउने दाबी गरिन् ।

फोटो : Google