काठमाण्डौँ ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन्। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन्।

बिहीबार तीन, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।  बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम एनआरटी र सरस्वती युथ क्लबबीच खेल, दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा र एपीएफले जावलाखेल युथको सामना गर्नेछ। शुक्रबार तीनवटा खेल हुनेछन्। शुक्रबार पहिलो खेल नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच एन्फा मैदानमा हुनेछ ।

सोही मैदानमा हुने अर्को खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। त्यसैगरी हल्चोकमा सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ। शनिबार दुईवटा खेल हुनेछन्। पहिलो खेलमा च्यासल युथ क्लबले ब्रिग्रेड ब्वाइजको सामना गर्नेछ भने दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्र क्लबको सामना गर्नेछ। दुवै खेल हल्चोकमा हुनेछ। सातौँ चरणका खेल सकिँदासम्म सात पटकको लिग विजेता मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र संकटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन्।

मनाङको २१ अङ्क छ। थ्रीस्टार र संकटाको समान १८ अङ्क रहेको छ। उनीहरू क्रमश दोस्रो र तेस्रो थानमा छन्।  त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौथो स्थानमा छ। नेपाल पुलिस र हिमालन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौ र छैठौ स्थानमा रहेका छन्। यस्तै च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेका छन्। छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेन्ड्स दशौँ स्थानमा छन्। चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन्।