धरान: पर्यटनको प्रचुर सम्भावना बोकेर पनि ओझेलमा रहेको धनकुटाको चौबिसे क्षेत्रमा पर्ने डाँडाबजारस्थित ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङ पनि हुने भएको छ । यसको सम्भाव्यताको लागि शनिबार बिहान टेष्ट फ्लाइट गर्ने तयारी भइरहेको छ ।

साहसिक पर्यटनसम्बद्ध संस्थाहरुको छाता संस्था एक्स्ट्रीम धरान र बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले ध्वजे डाँडाबाट टेष्ट फ्लाइट गर्न लागेको हो । फ्रान्सबाट २ जना अनुभवी पाइटलसहितको टोलीले टेष्ट फ्लाइट गर्ने एक्स्ट्रीम धरानका सचिव राम राईले जानकारी दिए । ‘प्याराग्लाइडिङलाई विस्तार गर्न ध्वजे डाँडाबाट पनि हुन्छ कि भनेर टेष्ट फ्लाइट गर्न लागेको हो,’उनले भने,‘हामी शुक्रबार जान्छौ, र शनिबार बिहान उड्छौ ।’

pic 9 copy

एक्स्ट्रीम र बुढासुब्बा प्रालि आफैले खर्च व्यवस्थापन गरेर टेष्ट फ्लाइट गर्न लागेको हो । यो कुरा थाह पाएपछि स्थानीयबासीले पनि सहकार्य गर्ने भएका छन् । पर्यटनको प्रचुर सम्भावना भएको डाँडाबजार र ध्वजे डाँडबाट प्याराग्लाइडिङको टेष्ट फ्लाइट सफल भयो भने थप पर्यटकीय आकर्षण पनि बढ्ने स्थानीयको अपेक्षा छ । पहिला अलगै गाविस रहको डाँडाबजार अहिले साँगुरीगढी गाउँपालिका ५ मा पर्छ । यहाँ होम स्टे पनि सञ्चालनमा रहेको छ भने अजंगको वरको रुख पनि यही छ ।

डाँडाबजारस्ति ध्वजे डाँडा सुर्योदय दृष्यावलोकनको लागि चर्चित ठाउँ हो । ऐतिहासिक चौबिसे क्षेत्रमा पर्ने यो डाँडाबाट सुर्योदयमात्र होइन, पुर्वका प्रायःजसो सबै जिल्ला देख्न सकिन्छ भने आकाश खुलेको बेला मनै लोभ्याउने गरी हिमश्रृंखला पनि छर्लङ्ग देखिन्छ । तर, उचित प्रचार प्रसारको अभावमा यो डाँडा ओझेलमा छ । ‘प्याराग्लाइडिङ भयो भने डाँडाबजारको पर्यटनमा आकर्षण थपिन्छ, हामीले डाँडाबजारमा ग्रामिण पर्यटनको अवधारणा बढाइरहेका छौ,’स्थानीय बुद्धिजिवि एवं पर्यटनविद कृष्ण ब्लोनले भने,‘पर्यटनको विकास र प्रर्वद्धनमा सहकार्य गर्न हामी तयार छौ ।’

48059255_1946188672116123_9083401852996812800_o copy