धरान: निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पाँचकन्याले धरान ६ स्थित पानवारीमा तीन दिने व्यावसायिक उन्नत बाख्रापालन तालिम शुरु गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं ६ र केराबारी गाउँपालिकाका आफ्ना महिला सदस्य र अभिभावकलाई संस्थाले तालिम दिएको हो । संस्थाका सदस्य इन्द्र कुमारी विश्वकर्माको सभापतित्व तथा धरान वडा नं ६ का अध्यक्ष भुवन सिह बस्नेतको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो । तालिममा करिब ३० जनाको सहभागिता रहेको छ ।

प्रमुख अतिथि बस्नेतले बाख्रापालन व्यवसायलाई व्यवसायिक र आधुनिक ढङ्गबाट व्यवसाय गरी यस क्षेत्रलाई बाख्रापालनको क्षेत्रकोरुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । संस्थाका शाखा प्रमुख टिकाराम गिरीले संस्थाले कर्जा, वचत, रेमिटान्स र विमा गरी ४ किसिमको सेवा सुविधा दिदैं आएको जानकारी दिए । साथै, समय समयमा विभिन्न किसिमका तालिमहरु पनि आयोजना गर्दै आएको उनले बताए ।

बाख्रापालन तालिममा बरिष्ठ पशु विकास अधिकृत राजेन्द्र राय, पशु विकास अधिकृत महेन्द्र कुमार पैकरा, क्षेत्रिय कार्यलय विर्तामोडका प्रमुख लक्ष्मीपति काफ्ले र शाखा प्रमूख गिरी प्रशिक्षक रहेका छन् । कार्यक्रममा सुन्दर समाजका अध्यक्ष शिला राई, पाँचकन्याका लेखापाल बैजनाथ शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिथए । कार्यक्रम सञ्चालन चुडामणी पौडेलले गरेका थिए ।