इटहरी:मोरङको मिक्लाजुङ १ स्थित श्री टाँडी माध्यमिक विद्यालयमा बिहिबार पुस्तकालयको उद्घाटन गरिएको छ । कवि तथा टाँडी माविका पूर्वविद्यार्थी हेमन यात्रीको सक्रियतामा पुस्तकालय स्थापना गरिएको हो ।

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तकालय उद्घाटन गरिएको थियो । सोही अवसरमा मिक्लाजुङ गाउँपालिकाव्यापी कविता प्रतियोगिता पनि आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइलाले विश्वका जुनसुकै मानिसहरु पनि अध्ययन गरेर शक्तिशाली भएको बताउँदै निरन्तर रुपमा पुस्तक अध्ययन गर्नुपर्ने बताए । आफ्नो गाउँ र आफु पढेको स्कुलमा पुस्तकालय स्थापना गरेर सह्रानीय कार्य गरेको भन्दै राष्ट्रगानको सर्जक माइलाले कवि हेमन यात्रीको प्रशंसा गर्दै भने,‘आँफू पढेको स्थानमा सहयोग गर्नु अनुकरणीय छ, परिवर्तनको नाममा आफैँ सुरुवात गर्नु महत्वपूर्ण हो ।’ मानिस पढेरै शक्तिशाली हुने र पुस्तक पढ्नैपर्ने उनले बताए ।

DSC_7374 copy

कार्यक्रममा कवि मनु मञ्जिलले आफैँबाट पढ्ने बानीको बिकास गर्नुपर्ने बताए । विद्यालयको किताब भन्दा पनि अन्य पुस्तकहरु पढ्न जोड दिदैँ मञ्जिलले भने,‘हामीले दिनको ३० पेज किताब पढ्ने बानीको बिकास गर्न सक्यौँ भने जीवन सार्थक हुन्छ ।’ उनले शिक्षकले विद्यालयको किताब मात्रै पढाउनुभन्दा पनि विद्यार्थीहरुलाई सधै आफूभन्दा अगाडि पुरर्याउन लागि पर्न जोडदिए । ‘भवन ठड्याएर मात्रै केही हुन्न, चौरमा पढ्नुस् तर पढ्न नछाड्नुस्,’उनले भने,‘पढ्ने मानिस संसारकै शक्तिशाली हुन्छ ।’ विद्यार्थीहरुले कोर्षको किताब मात्रै नभएर अन्य पुस्तकहरु पढ्नुपर्नेमा उनको जोड थियो ।

पुस्तकालय स्थापना गर्नका लागि सक्रिय रहेका सोही विद्यालयका पूर्व विद्यार्थी तथा कवि हेमन यात्रीको आँफूले नयाँ पुस्तकहरु संकलन गर्नका लागि करीब डेढ लाख खर्च गरेको र अन्य पुराना गरि दुई हजार बढी पुस्तकहरु संकलन गरि पुस्तकालय स्थापना गरिएको बताए । ‘यो पुस्तकालय स्थापना गर्नका लागि सहयोग गर्ने मानिस नभएको भए पुस्तकालय स्थापना हुनेथिएन,’ यात्रीले भने, ‘करीब ६ लाख रुपैयाँ मुल्यका किताबहरु यो पुस्तकालयमा संग्रहित छन् ।’

DSC_7372 copy
कार्यक्रममा सञ्जीब राई, प्रकाश थाम्सुहाङ, सुन्दर कुरूप र देवान किराँती कविता वाचन गरेका थिए भने स्थानीय गायक नितेश राईले गीत गाएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृत कुमार राई, कार्यक्रम संयोजक पर्वत राई, मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी लगायतले बोल्दै गाउँमा पुस्तकालय उद्धघाटन गरेर उदाहरणीय काम भएको बताएका थिए ।

साथै सोही कार्यक्रमको अवसर पारेर अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिताको आयोजना समेत गरिएको थियो । उक्त प्रतियोगितामा अनुरा पौडेल प्रथम, सुबासना राई द्धितीय, सुस्मिता राई तृतीय र नलिना बास्तोला शान्तवना भएका थिए । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार, पन्ध्र सय र पाँच सय रुपैयाँ सहित प्रमाणपत्र हात पारेका थिए ।
फोटो:अमृत भादगाउँले ।