फिदिम : पाँचथरमा लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई कामकाजी भाषा बनाउन माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति पाँचथरसँगको समन्वयमा यस्तो माग गरिएको बताइएको छ । किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा नेतृत्वको एक टोलीले फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै कामकाजी भाषा बनाउन माग गरेका हुन् । ६ बुँदे ज्ञापनपत्रमा स्थानीय बाहुल्य वक्ता भएको आधारमा लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई पनि कामकाजीको भाषा बनाइनुपर्ने माग अघि सारिएको छ ।

यसैगरी, राष्ट्रिय शिक्षा विधेयक, २०७४ का आधारमा सम्बन्धित स्थानीय तहभित्र रहेका विद्यालयका सबै तहमा लिम्बू भाषा शिक्षा लागू गर्न र शिक्षक दरबन्दीको व्यवस्था गर्न माग गरिएको छ । सार्वजनिक दस्तावेजमा स्थानीय राष्ट्रभाषामा रहेका गाउँठाउँका अपभं्रशित नामलाई सच्याएर राख्न पनि माग गरिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सन्धि र घोषणापत्र अनि नेपालको संविधान २०७२, भाषा आयोग ऐन २०७३, बहुभाषिक शिक्षा नीति २०६७ र राष्ट्रिय संस्कृति नीति २०६७ अनुसार स्थानीय सरकारसमक्ष उक्त माग गरिएको चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्र केरुङले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख नेम्बाङले विभिन्न भाषा, लिपि, धर्म, संस्कार र संस्कृति सङ्घीयताको सौन्दर्य भएको बताउँदै प्रदेश सरकारसँग समेत समन्वय गर्दै ती मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

जिल्लाभर ज्ञापनपत्र बुझाउने क्रममा यसअघि कुम्मायक, तुम्बेवा, मिक्लाजुङ र फालेलुङ गाउँपालिकामा ज्ञापनपत्र बुझाइसकेको र बाँकी स्थानीय तहमा पनि चाँडै बुझाउने बताइएको छ ।