धरान: शनिबार मध्यराती धरानको भानुचोकदेखि करिब सय मिटर उत्तर पश्चिममा रहेको अमन/विमला श्रेष्ठको घरमा आगलागी हुदा ३ वटा पसल जलेर ध्वस्त भएको छ ।

धरानको वडा नं १२ मा पर्ने श्रेष्ठको घरमा भाडामा सञ्चालनमा रहेको सेरिना लेडिज टेलर्स, ग्लोमिङ पार्लर र सञ्चालनको तयारीमा रहेको फेन्सी पसलमा आगलागी भएको हो । आगलागीले टेलर्स र पार्लरको सामानहरु पुर्णरुपमा जलेर खरानी भएको छ भने सञ्चालनको तयारीमा रहेको फेन्सी पसलको सामानहरु भने केही जोगिएको छ ।

घरधनी विमलाका अनुसार मध्यराती आगलागी भएको खबर आएपछि पुग्दा सटरभित्रबाट ठुलो आगोको मुस्लो निस्किरहेको थियो । घरधनीहरु अर्कै घरमा बस्ने गर्छन् । आफुहरु करिब साढे १२ बजे आगलागी भएको घरमा आइपुगेको उनले बताइन् । ‘हामी अर्कै घरमा बस्छौ, यहाँ सबै भाडामा दिएका थियौ,’उनले भनिन्,‘आगो लागेको खबर भएर साढे १२ बजेतिर आइपुग्यौ, दमकलले पानी हाल्दैथियो, भित्रबाट आगोको मुस्लो निस्किरहेको थियो ।’ करिब २ बजेरित आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको उनले बताइन् ।

IMG_20181216_135754 copy

आगलागीको कारण अझैसम्म खुलेको छैन । काठमाण्डौ घर भएका टेलर्स सञ्चालक दिपक परियारका अनुसार उनी शनिबार साँझ ५ बजेरित सटर लगाएर डेरा गएका थिए । एक्कासी राती आगो लागेको सुनेर आइपुग्दा सबै जलिरहेको थियो । ‘मेरो मेशिन, फर्निचर, ग्राहकहरुको कपडा सबै जल्यो,’उनले भने,‘साढे ३ लाख भन्दा बढीको सामानहरु जल्यो ।’यस्तै, ब्युटि पार्लरकी सञ्चालिका सन्ध्या श्रेष्ठका अनुसार उनको ७ लाख हाराहारीको सामानहरु जलेर नष्ट भएको छ । आगलागी भएको थाह पाएर राती १ बजेतिर आइपुग्दा सबै जलिसकेको उनले बताइन् । ‘अर्को नयाँ पसलको फर्निचरहरु मात्र थियो, त्यहाको धेरै त जोगियो । मेरो र टेलर्सको सबै जलेर सखाप भयो,’उनले भनिन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जबेगुका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताउँछन् । बाटो साघुरो भएकोले आगलागी भएको ठाउँसम्म पुग्न दमकललाई निक्कै बाधा पुगेको पनि उनले बताए । ‘बाटो त थियो, तर निक्कै साघुरो थियो । दमकललाई अर्को पटिबाट बल्ल बल्ल छिराएर आगो नियन्त्रणमा लियौ,’उनले भने ।

सहयोग रकम जुटाउदै

IMG_20181216_134423 copy

टेलर्स सञ्चालक परियारले विगत ३ बर्षदेखि व्यवसाय गर्दै आएका थिए । काठमाण्डौं घर भएका उनी धरान १६ मा डरा गरी बस्छन् । उनको परिवारको एकमात्र आयस्रोत यही टलर्स थियो । गरिखाने माध्यम नै जलेर खरानी भएपछि उनी निराश छन् ।

परियारको यही पीडा बुझेर नेपाल कपडा तथा सिलाई व्यवसायी संघले सहयोग जुटाउन थालेको छ । संघको केन्द्रीय समितिले ६२ वटा जिल्ला समितिमा खबर गरेर परियारलाई सहयोग जुटाउन आह्वान गरिसकेको केन्द्रीय सदस्य एवं धरानका व्यवसायी फिरोज अलिले जानकारी दिए । उनले भने,‘बाहिरबाट आएर गरीखाने मान्छेको विचल्ली अवस्था बन्यो । त्यसैले उनलाई सहयोग गर्नुपर्छ भनेर राहत संकलनमा जुटेका छौ ।’

IMG_20181216_134415 copy