ब्लाष्ट टाईम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकले “पानीमा ब्रम्हलुट” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रशोधित पानीमा सरकारले तोकेको मापदण्ड विपरीत व्यापारीहरुले एक सय २० प्रतिशतभन्दा बढि शुल्क असुल्ने गरेका छन् । उत्पादक कम्पनीले १० रुपैयाँ ४० पैसादेखि १२ रुपैयाँ ५० पैसा प्रतिबोतलमा व्यापारीलाई पानी दिए पनि व्यापारीले २ गुणा मूल्य राखेर बिक्री गर्ने गरेका हुन् । पानीको मूल्य महंगो भए पनि गुनासो गर्ने निकाय यसबारे बेखबर बन्दा उपभोक्ता मारमा परेका छन् । उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा व्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशतभन्दा बढि मुनाफा राख्न नपाउने प्रावधान छ । तर पानीमा भने व्यापारीले मनपरी मूल्य राखेर कालोबजारी गरीरहेका छन् ।

उदघोष : विराटनगरबाट प्रकाशन हुने उदघोष दैनिकले “आईसीपी फागुनमा हस्तान्तरण हुने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगर महानगरपालिकाको वडा नं. १८ मा निर्माण भैरहेको एकीकृत भन्सार जाँच चौकी –ईन्टीग्रेटेट कस्टम चेकपोष्ट–आईसीपी) आगामी फागुनको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । जाँच चौकी (आईसीपी) को निर्माण कार्य युद्धस्तरमा भईरहेको छ ।

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सुनसरी जिसस एक महिनादेखि प्रमुख विहीन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सेवा सुविधा र बजेट कम भएकाले जिल्ला समन्वय अधिकारीहरु जिल्लामा बस्न नमानेको रहस्य खुलेको छ । एकातिर जिल्ला समन्वय समितीमा सेवा सुविधा र बजेट कम भएको अर्कोतिर स्थानीय तहमा सबै अधिकार गएपछि सुनसरी जिल्ला समन्वय समितीमा जिल्ला समन्वय अधिकारी बस्न नमानेको खुलेको हो । कुनै समय सुनसरी जिल्ला विकास समितीमा रकम खुवाएर, भनसुन गरेर र अन्य अस्त्र प्रयोग गरी आउनका लागि तछाडमछाड गर्ने स्थानीय विकास अधिकारीहरु अहिलेको जिल्ला समन्वय समितीमा आउन नमानेको हो ।