प्राकृतिक एवं भौगोलिकरुपले सुन्दर गाउँ हो, साँगुरीगढी गाउँपालिका ५ मा अवस्थित डाँडाबजार । पर्यटकहरुलाई आकर्षण गर्नसक्ने थुप्रै गन्तव्य एवं प्राकृतिक सुन्दरता भएपनि डाँडाबजारमा नगन्य मात्रामा पर्यटकहरु पुग्ने गर्छन् ।

पर्याप्त प्रचारप्रसारको अभावले आफ्नो गाउँको सुन्दरता ओझेलमा परेको स्थानीयबासी एवं पर्यटनका अभियन्ताहरुको गुनासो छ । विगतमा अलग्गै गाविस रहेको डाँडाबजार अहिले साँगुरीगढी गाउँपालिकामा समाहित छ । यही गाउँपालिकामा भेडेटार, नाम्जे, ओख्रे र नमस्ते झरना जस्ता चर्चित पर्यटकीय गन्तव्यहरु छन् । ती गन्तव्यहरुमा पर्यटकहरुको घुइचो हुदा डाँडाबजारमा भने पर्यटकहरुको चहलपहल ज्यादै नगन्य छ ।

स्थानीयबासीले आफ्नै पहलमा हेम स्टे शुरुवात गरेका छन् । पर्यटकहरुको आगमन भने उत्साहजनक छैन । पर्यटन विकास समितिका अध्यक्ष त्रिलोचन घिमिरे भन्छन्,‘पाहुना पर्यटकलाई स्वागत गर्न हामी तयार छौ, तर उत्साहजनक आगमन भइरहेको छैन ।’

4 5

डाँडाबजारको आकर्षणहरु


चर्चित पर्यटकीयस्थल भेडेटारदेखि करिब १३ किलोमिटर पुर्वमा अवस्थित छ डाँडाबजार । यहाँको ध्वजे डाँडा र कैलाश डाँडा क्रमशः सुर्योदय र सुर्यस्तको सुन्दर दृष्यावलोकनको लागि उपयुक्त ठाउँ हो । समुन्द्री सतहबाट डाँडाबजार ६ हजार फिटको उचाईमा छ भने ध्वजे डाँडा करिब ७ हजार फिटको उचाई छ । ध्वजे डाँडाबाट बिहानै सुर्योदयको मात्र होइन, पुर्वका सबै जिल्ला र तराईको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

उहिल्यै यो क्षेत्रमा लेप्चा जातिको बसोबास थियो भन्ने किवंदन्ती छ । तिनै लेप्चाहरुले डाँडामा पुजाआजा गरेर ध्वजापतका राख्ने गरेकोले उक्त डाँडाको नाम ध्वजे डाँडा भएको उनीहरु बताउँछन् । बजारदेखि करिब २ किलोमिटर दुरी रहेको लाप्चेटारमा एसियाकै दोस्रो ठुलो अजंगको वरको रुख छ । डाँडाबजारको यो अर्को पर्यटकीय गन्तव्य हो ।

ध्वजे डाँडाबाट देखिने हिमाल र पहाडको डाँडैडाँडाको दृष्यले पर्यटकहरुको मन लोभ्याउछ । यहाँबाट कुम्भकर्ण, कञ्चजनजंघा हिमश्रृंखलासँगै मकालु हिमश्रृंखला प्रष्ट देखिन्छ । पर्यटन कार्यालय झापाले ध्वजे डाँडामाथि भ्यु टावर पनि निर्माण गरिदिएको छ । डाँडाको शिरमा किरात धर्मावलम्बीहरुको माङ्हिम निर्माण भएकोले धार्मिक पर्यटनको सम्भावना पनि बढेको छ । साँझमा कैलाश डाँडाबाट सुर्यस्तको सुन्दर दृष्य देखिन्छ ।

पर्यटन समितिका पुर्वअध्यक्ष एवं ग्रामिण पर्यटन अभियन्ता कृष्ण ब्लोन भन्छन्,‘ध्वजे डाँडाबाट हिमाल, पहाड र तराईको मनोरम दृष्य देखिन्छ । सुर्याेदयको पनि मन लोभ्याउने देखिन्छ । साँझमा सुर्यस्त हेरेर होम स्टेमा बस्ने र बिहान सुर्याेदय हेरेर वरको रुख पुग्ने र राजारानीसम्मको प्याकेज बनाउन सकिन्छ ।’सोही वडाको वेगना भन्ने ठाउँमा डगलसिं लिम्बूको पुरात्तात्विक महत्वको घर छ । लिम्बू सँस्कृति झल्काउने यो घरको संरक्षण गर्ने र संग्रहालय निर्माण गर्नसकिने ब्लोनको धारणा छ । बजारमा विष्णु चर्तुवाहु पुरात्तात्विक महत्वको मन्दिर छ ।

7 8 9 10

3