धरान : कर्मचारी समायोजनमा समान व्यावहार नभएको र स्थानीय तहका कर्मचारीहरुलाई दोस्रो दर्जामा सिमित पारिएको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुले सोमबार धरान उपमहानगरसहित देशभरका स्थानीय तहमा कामकाज ठप्प पारेका छन् ।

स्थानीय निकाय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकाका कर्मचारीले पनि कार्यालय ठप्प पारेका हुन् । सरकारले मंसिर २३ गते जारी गरेको कर्मचारी समायोजन ऐन २०७५ मा आफुहरुलाई अन्याय गरेकोले आन्दोलित बन्नुपरेको धरान उपमहानगरपालिका अन्तर्गत स्थानीय आन्दोलन परिचालन समितिका संयोजक खगेन्द्र खतिवडाले बताए । उपमहानगरपालिकाको कार्यालयसहित २० वटै वडा कार्यालयमा कामकाज ठप्प पारको उनले बताए । ‘देशव्यारी आन्दोलनको कार्यक्रम हो, हामीले पनि विहान १० बजे कार्यालयमा हाजिर गरेर सम्पूर्ण कामकाज बन्द गरेका छौं,’संयोजक खतिवडाले भने । सबै वडाका वडासचिबहरु धर्नामा सहभागी भएको उनले बताए ।

karmachari andolan pic (3)

कामकाज ठप्प पारेर सबै वडाका कर्मचारीहरु उपमहानगर परिषरमा दिनभर धर्ना दिएर बसेको थिए । कर्मचारीहरुले अपरान्ह ४ बजेसम्म धर्ना दिएर बसेका थिए । कर्मचारीहरुले धर्ना दिएर बस्दा सेवाग्राहीहरुको काम भने प्रभावित बनेको थियो । यता धरान–१३ नम्बर वडा कार्यालय भने सेवाग्राहीको काम नरोकेको बताएको छ । जनताको सेवागर्न आएको जनप्रतिनिधि भएकोले सेवाग्राहीलाई दिइने सम्पूर्ण काम नरोकिने वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताए । ‘कर्मचारी साथीहरुको आन्दोलनको विरोध गरेको हौइन, तर, हामी जनताको सेवा गर्न आएको जनप्रतिनिधि हौं, त्यसैले जनताको काम हामी एक मिनेट पनि रोक्देनौं,’ उनले भने ।

त्यसैगरी, वडा नम्बर २० का वडाध्यक्ष तथा उपमहानगरपालिकाका प्रबक्ता मणिराम राईले पनि कर्मचारी आन्दोलित बनेपनि वडा कार्यालय भने खुल्ला राखिएको बताए । कर्मचारीले आफ्नो माग राखेपनि जनताको काम रोकिनु नहुने धारणा राखे । यता धरान ४ का वडाध्यक्ष मानबहादुर राईले भने कर्मचारीले बन्द गर्न दबाब दिएकाले बन्द गरेपनि केही बेरमा कार्यालय खुल्ला राखेको बताए । ुसचिब पनि थिएन अनि बन्द गरियो, तर फेरी खुल्ला गर्यौं,’ उनले भने ।

सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको बृत्ति विकास नहुने तथा मनोवल गिर्ने खालको व्यावस्था ल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । कर्मचारीहरुले ११ दिने आन्दोलनको कार्यक्रमहरु आइतबारै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । सरकारले श्रेणी विहीन कर्मचारीका लागि २ ग्रेड थप, सहायक स्तर सबै तहका ५ वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई २ ग्रेड थप र ५ वर्ष सेवा अवधि पुरा भएकालाई एक तह बृद्धिलगायतका ९ वटा बुँदामा आफ्ना मागहरु राखेका छन् ।

संयोजक खतिवडाका अनुसार ३ गते विहान १० बजेदेखि १२ बजेसम्म कार्यालयहरुमा कालोपटि बाँधी कामकाज ठप्प पार्ने रहेको छ । त्यसैगरी, ४ गते विहान १० बजेदेखि दिउसो २ बजेसम्म कालोपटि बाधी कामकाज ठप्प पार्ने, ५ गते विहान १० बजेदेखि ३ बजेसम्म कालोपटि बाँधी कामकाज ठप्प पार्ने, ६ गते दिनभर कालोपटि बाँधी कार्यालयको कामकाज ठप्प पार्ने, ८ गते विहान १० देखि दिउसो ३ बजेसम्म कालोपटि बाधी कामकाज ठप्प पार्ने, ९ र १० गते कार्यालय ठप्प पार्ने, ११ गते विरोध सभा गदै आन्दोलनको कार्यक्रमहरु थप कडा पार्न कार्यक्रमहरु तय गर्ने रहेको छ ।

karmachari andolan pic (2)