तेह्रथुम :  तेह्रथुमकै सर्वाधिक राशीको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगितामा संखुवासभा फुटबल संघको विजयी यात्रा सुरु भएको छ ।

संखुवासभाले सोमबार म्याङलुङ नगरपालिका–२ स्थित मैदानमा भएको खेलमा आयोजक तेह्रथुमलाई ३–२ गोलले पराजित गरेको हो । आयोजकका लागि खेल सुरुवात भएको ७ औँ मिनेटमा सन्तोष लिम्बु र १६ औँ मिनेटमा विमल गुरुङले गोल गर्दै २–० को अग्रता बनाएका थिए ।

तर त्यसलाई आयोजकले कायम राख्न सकेन । संखुवासभाका लागि जोयल लिम्बुले पहिलो हाफको ४१ औँ र दोश्रो हाफको ८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । बराबरीपछि खेल अझै रोचक बनेको थियो । संखुवासभाका लागि दिपक चौहानले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिता अन्तर्गत मंगलबार पाँचथर र मोरङ तथा ताप्लेजुङ र इलामबीच प्रतिष्पर्धा हुनेछ । नकआउटका आधारमा सन्चालन हुने प्रतियोगिता पौष ७ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिता सन्चालनकालागि २८ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ ।