धरान:धरान १४, विजयपुर दरबार क्षेत्र परिसरमा रहेको विन्दबासिनी मन्दिर जाने बाटो, रेलिङ र प्रबेशद्वारको सोमबार उद्घाटन गरिएको छ ।

विन्दबासिनी मन्दिर बाटो, रेलिङ तथा प्रबेशद्वार निर्माण उपभोक्ता समितिले १० लाख ९४ हजार ५ सय ५५ रुपैयाँको लागतमा निर्माण गरेको मन्दिरको सोमबार उद्घाटन गरिएको हो । मन्दिरकी पुजारी अम्बिका शाक्यले बाटोको उद्घाटन गरेकी थिइन् । मन्दिरमा प्रबेशद्वार समेत निर्माण गरिएको छ । निर्माणको लागि पुजारी शाक्यले २ लाख ५८ हजार २ सय रपैयाँ सहयोग प्रदान गरेको समितिका सल्लाहकार गौतम श्रेष्ठले जानकारी दिए ।

कुल लागतमध्ये अरु रकम धरान १३ का स्थानीय तथा संघसंस्थाहरुसँग संकलन गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए । धरान १३ शिबधारास्थित पेट्रोल पम्पबाट मन्दिर जाने बाटो भिरालो तथा ढुङगा रहेको कारण मानिसहरुलाई आवतजावतमा समस्या भइरहेको थियो । सोही बाटोलाई कङक्रिटको सिढी र फलामको रेलिङ लगाएर सुविधा सम्पन्न बनाइएको श्रेष्ठले बताए । भिरालो बाटोबाट आवतजावत गर्नुपर्ने बाध्यता हटेको समितिका अध्यक्ष दलबहादुर कार्कीको भनाई छ । 'अहिले यो बाटो हिड्न धेरै सजिलो भएको छ,' अध्यक्ष कार्कीले भने ।